हिमाल दैनिक
पुस २५ गते बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्। संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको सर्वदलीय बैठकले संसदको पहिलो बैठकको एजेण्डा तय गर्दै उक्त दिन नवनिर्वाचित सांसदहरुमाझ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय भएको हो। पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दुईघण्टाभित्र दलीय आधारमा समय निर्धारण गरेर दलका प्रतिनिधिहरुलाई बोल्न समय दिइने संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए। सभामूख र उपसभामुखको निर्वाचन नभएसम्म र कार्यव्यवस्था परामर्श समिति गठन नभएसम्म पुरानै नियमावली अनुसार बैठक बस्ने जानकारी पनि धमलाले दिए। उनले दोश्रो बैठक पुष २६ गते ११ बजे नै बोलाउने सहमति भएको पनि बताए। सभामूख र उपसभामुखको निर्वाचनका बारेमा पनि छलफल भएको र दलहरुबीचको समन्वयका आधारमा पछि मिति तोक्ने कुरा भएको धमलाले बताए। त्यस्तै बैठकपछि कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले आजको सर्वदलीय बैठकले पुष २५ गतेको एजेण्डा तय भएको र पुष २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान बमोजिम विश्वासको मत लिने कार्यतालिकाका बिषयमा छलफल भएको बताए। लेखकका अनुसार, माघ ७ गते सभामुख र ९ गते उपसभामुखको निर्वाचन गर्ने प्रस्ताव बैठठकमा आएको र यसबारे लगभग सहमति जुटेको छ। लेखकले विश्वासको मतका बारेमा कांग्रेसको संसदीय दलको बैठकले औपचारिक धारणा तय गर्ने र आफ्नो नेतृत्वमा सरकार गठनका लागि कांग्रेसले कुनै पहल नगरेको स्पष्ट पारे। त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले पुष २६ गते विश्वासको मत लिने र यसका लागि सवै दलहरुसंग छलफल भइरहेको जानकारी दिए। मुलुकको समृद्धिका लागि वर्तमान सरकारलाई सवै दलले समर्थन गर्ने पाण्डेको विश्वास छ। प्रतिनिधिसभाको अधिवेशन पुष २५ गते दिउँसो १ बजे बोलाइएको छ।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update