नेकपा एमालेसहितका विभिन्न ६ दलको समर्थनमा प्रधानमन्त्री बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले विश्वासको मत लिन नपाउँदै पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले वर्तमान सरकारको विकल्प खोज्न सुझाएका छन्।
प्रधानमन्त्री दाहालले पुस १० गते संसदमा रहेका सात दलका १६९ जनाको साथ र समर्थन आफूलाई रहेको भन्दै संविधानको धारा ७६ को उपधारा २ बमोजिम देशको प्रधानमन्त्रीमा दाबी गरेपछि ११ गते पदभार ग्रहण गरेपछि २६ गते संसदबाट विश्वासको मत लिने तयारीमै रहेका बेला पछिल्लो समय दाहालसँग घनिष्टता बढाउँदै गएका भट्टराईले वैकल्पिक सरकार गठनको अवधारणा सार्वजनिक गरेका हुन्।
बिहिबारदेखि विभिन्न संचारमाध्यमदेखि सामाजिक संजालमा सरकारको स्थायित्वको विषयमा आशंकापूर्ण समाचार छापिन थालेपछि भट्टराईले शुक्रबार ट्वीटरमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरुको राष्ट्रिय सहमतिको सरकार बनाउने कि भनि प्रस्ताव अघि बढाएका हुन्।
उनले भनेका छन्, ‘विश्वव्यापी आर्थिकमन्दी मडारिदैगरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थीरताको चक्र थेग्न सक्दैन। अतःखुट्टा तानातानमा समय खेर फाल्नुसट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थीर सरकार बनाउने कि?’
https://twitter.com/brb1954/status/1611309286982057984
उनको उक्त स्टाटसले हालै बनेको दाहाल नेतृत्वको सरकारमा सहभागी भइसकेका वा हुन तयार देखिएकै दलहरुपनि पुस २६ गतेको संसदमा विश्वासको मत दिने क्रममा विपक्षमा उभिन सक्ने आशंकालाई संकेत गरेको छ।
विशेषगरी पूर्व पञ्च र राजावादीहरुको बाहुल्यता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि हालै सम्पन्न निर्वाचनमा पुराना दलहरुको अपेक्षाभन्दा फरक ढंगले राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी लगायत संघीयता, गणतन्त्रको विपक्षमा रहेका दलहरुले सरकारको स्थिरतालाई धरापमा पार्न सक्ने मात्र नभई व्यवस्थालाई नै खतरामा पार्न सक्ने सम्भावनालाई लक्षित गर्दै नेता भट्टराईले समय खेर नफाली लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरुको राष्ट्रिय सहमतिको सरकार गठन गरी मुलुकमा स्थीर सरकार बनाउने विकल्पबारे सोच्न प्रमुख दलका नेताहरुलाई प्रश्न गरेका हुन्।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय