हिमाल दैनिक
सरकार ढाल्न कांग्रेस लागिपरेको ओलीको आरोपः भने, कांग्रेसको प्रयास सफल हुन दिन्नौँ
KB-KTM-RE3A4311copy
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिएर विफल बनाउन नेपाली कांग्रेस लागिपरेको आरोप लगाउँदै कांग्रेसको उक्त प्रयासलाई सफल हुन नदिने घोषणा गरेका छन्। शनिबार संसद भवन नयाँ बानेश्वरमा एमालेले आयोजना गरेको नेपालमा संसदीय प्रक्रिया तथा कानून तर्जूमा विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिन कांग्रेसले अनेक प्रयास गरिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताए। विश्वासको मत पुग्न नदिन कांग्रेस सभापति शेर बहादुर देउवाले केहि दललाई प्रधानमन्त्रीको अफर गरेको ओलीको दाबी छ। बिहिबार साँझदेखि शुक्रबार दिनभर नै देशका विभिन्न मिडियादेखि सामाजिक सञ्जालमा कांग्रेसले एमालेको आडमा बनेको दाहाल नेतृत्वको सरकार ढाल्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको समाचार प्रकासित भएपछि सरकारको स्थायीत्वबारे प्रश्न उब्जिएको थियो। तत्कालको परिस्थितिमा संविधानको कुनै पनि प्रावधानले लिङदेन वा अन्य कसैलाई कांग्रेसले चाहँदैमा प्रधानमन्त्री बनाउन सक्ने अवस्था नहुँदा नहुँदै पनि संचारमाध्यममा समाचारले विशेष स्थान पाएपछि कांग्रेसकै पदाधिकारीहरुले समेत यसबारे कांग्रेसले कसैलाई कुनै प्रस्ताव नगरेको स्पष्टिकरण दिनु परेको थियो। अबको ५ वर्ष कांग्रेसको धन्धा सरकारको विरोध गर्न वा ढाल्नमा रहने ओलीको भनाइ छ। उनले वर्तमान सरकारलाई सफल पार्नु सबैको कर्तव्य भएको भन्दै सुशासन र विकासको लागि उचित र आवश्यक कदम चाल्नका लागि उपयुक्त ढंगले सुझाव दिनुपर्ने बताए। आफ्नो पार्टीका सांसद सदस्यहरुलाई पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा समयमा नै उपस्थीत भएर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन समेत ओलीले निर्देशन दिए। त्यस्तै ओलीले नेपालमा सरकार बनाउने बिषयमा बाह्य हस्तक्षेप हुन खोजेको र त्यसलाई असफल बनाइएको दाबी समेत गरे। उनले छिमेकी सबैसँग समान सम्बन्ध राख्न चाहेको र नेपालमा सरकार बनाउदा आत्तिनुपर्ने अवस्था नरहेको धारणा राखे। ओलीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनका लागि ध्यान दिनुपर्ने समेत बताए। एमालेको अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्ने छ।
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update