हिमाल दैनिक
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिनेबारे नेपाली कांग्रेसको निर्णयमा भर पर्ने भएको छ। आइतबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकपछि अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अहिले पनि कांग्रेस नेतृत्वको पुरानै गठबन्धनमा रहेकाले कांग्रेसको धारणा आएपछि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे पार्टीले धारणा तय गर्ने बताए। लोसपाले कुरेर बसेको कांग्रेसले भने सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे पुस २६ गते बिहान ९ बजे संसदीय दलको बैठक बसालेर मात्रै निर्णय गर्दैछ। उनले सरकारलाई सहयोग गर्न वा विश्वासको मत दिनका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबाट औपचारिक प्रस्ताव नआएको समेत बताए। ठाकुरले आधिकारीक प्रस्ताव आए सरकारका बिषयमा आवश्यक छलफल गर्न सकिने धारणा पनि राखे। अध्यक्ष ठाकुरले सरकारको साझा न्युनतम कार्यक्रममा आफुहरुको केहि माग पनि समावेश भएको र त्यस अनुसार काम हुन्छ वा हुन्न भन्ने हेर्न बाँकी रहेको प्रतिक्रिया दिए। उनले पार्टीका सवै सांसदहरुलाई काठमाडौंमा नै बस्न भनिएको बताउँदै कार्यकारिणी बैठकले मधेस प्रदेशको संसदीय दलको विधानलाई अनुमोदन गरिएको जानकारी दिए। मधेस प्रदेशमा राजनीति गर्दै आएको लोसपाले गत निर्वाचनमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक वामगठबन्धनमा सहभागी भएर चुनावमा गएपनि प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ ४ सिटमा मात्रै जित्न सफल भएको थियो।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update