संसदमा पहिलो ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलबार विश्वासको मत दिने भएको छ।
चुनावअघि कांग्रेससँग गरेका बाचाबन्धन र गठबन्धनको राजनीतिलाई पुस १० गते तोड्दै एमाले लगायतका दलको साथ र समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको आग्रह पश्चात पार्टीले उनलाई ससर्त विश्वासको मत दिने निर्णय गरेको हो।
संसदमा सहजै बहुमतको स्थितिमा रहेका दाहालले गरेको आग्रह पश्चात सभापति देउवाले यसबारे पार्टीभित्र औपचारिक निर्णय लिनुअघि चरणबद्ध अनौपचारिक र औपचारिक छलफल र निर्णय गराउने कार्य गरेका हुन्।
उनले सोमबार साँझै केही शीर्ष नेताहरुसँग परामर्श गरेलगत्तै मंगलबार बिहान आफ्नै निवास धुम्म्रबाराहीमा पदाधिकारीको अनौपचारिक छलफल र बैठक बसाएका थिए।
बैठकमा सर्वसम्मत निर्णय लिनु अघि उनले बिहान साढे ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाएर छलफल चलाए।
उक्त छलफल पश्चात पार्टीले नयाँवानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक राखेर पार्टीले दाहाललाई तत्कालका लागि विश्वासको मत दिएपनि आफू प्रतिपक्षमै बस्ने निर्णय सुनाउँदैछ।
कांग्रेसको समर्थनविना नै करिब करिब दुई तिहाई बहुमत नजिक पुगेका दाहाललाई कांग्रेसको मतसमेत जोड्दा सम्भवत् नेपालको संसदीय इतिहासमै करिब सतप्रतिशत समर्थन प्राप्त हुने अवस्था बनेको छ।
यसअघि कांग्रेस गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले पनि ससर्त विश्वासको मत दिने निर्णय गरेपनि राष्ट्रिय जनमोचाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले विपक्षमा मतदान गर्न सक्ने सम्भावना रहेको छ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय