नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राखेको प्रस्तावप्रति कांग्रेसका पाँच सांसदले फरक मत दर्ज गरेपछि उक्त निर्णय सर्वसम्मत पारित हुन सकेन।
कांग्रेस कार्यसम्पादन समितिको बैठकमा जस्तै संसदीय दलको बैठकमा पनि महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदिप पौडेलले पार्टी निर्णयमा असहमती दर्ता गरेका थिए।
यसअघि कार्यसम्पादनको बैठकमा पनि महामन्त्रीद्वय थापा, शर्मा, केसीका अतिरिक्त बलबहादुर केसीले पनि फरक मत दर्ज गरेका थिए।
यसका बाबजूद, पार्टी कार्यसम्पादन समितिको बहुमतले पारित गरेको सभापति देउवाको प्रस्तावलाई संसदीय दलको बैठकले पनि बहुमतले पारित गरेको छ।
फरक मत दर्ज गर्ने क्रममा अल्पमत पक्षले सरकारका प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि राजनीतिक र नैतिक रुपमा प्रतिपक्षमा बस्न नमिल्ने दाबी गरेका छन्।
बैठकपछि सांसद पौडेलले विपक्षी दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि विपक्षमा बस्न कानुनी जटिलताहरु रहेकोले आफूले असहमति जनाएको बताए।
कार्यसम्पादन समितिले प्रतिपक्षमा बस्नेगरी विश्वासको मत दिने निर्णय गरेको थियो। त्यही निर्णयबारे संसदीय दलको बैठकमा छलफल भएको थियो।
कायसम्पादन समिती बैठकमा महामन्त्री थापा र शर्मा र केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असहमती दर्ज गराएका थिए।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय