हिमाल दैनिक
प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा रहेका दुई साना दलका दुई जना सांसदले मात्रै विश्वासको मत दिन अस्विकार गरेका छन्। संविधानको धारा ७६ को उपधारा २ बमोजिम पुस १० गते राष्ट्रपतिबाट प्रधानमन्त्री पदमा नियुक्त भएका प्रधानमन्त्री दाहालले मंगलबारको संसद बैठकमा विश्वासको मत माग्दै राखेको प्रस्तावमा विपक्षी दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी समेतले ससर्त समर्थन जनाएको बेला राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले विपक्षमा उभिने निर्णय गरेका हुन्। संसदमा बोल्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा बलियो प्रतिपक्षी नहुने अवस्थामा सरकार फेरि निरंकुश हुन सक्ने र बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्था खतरामा पर्ने हो कि भन्ने आशंका व्यक्त गर्दै जस्तो सुकै अवस्थामा पनि आफू विपक्षमा बस्ने बताए। त्यसैगरी नेमकिपा सांसद प्रेम सुवालले आफ्नो दलले विगतदेखि उठाउँदै आएका राष्ट्रिय, अन्तराष्ट्रिय मुद्दामा सरकारको अवधारणा विश्वसनीय नभएको भन्दै विपक्षमा मत दिने जानकारी दिए। संसदमा रहेका विभिन्न दलका २७५ सांसदमध्ये कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा परेसँगै बैठकको अध्यक्षता गरिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशम्शेर जबराले पनि मत नदिने अवस्थामा सम्भवत दाहालको पक्षमा २७१ मत पर्न सक्ने सम्भावना देखिएको छ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update