हिमाल दैनिक
प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा उठेका विचारहरुले आफूलाई निकै नै गम्भीर बनाएको बताए। विपक्षी दलदेखि स्वतन्त्र सांसदहरु समेतले विश्वासको मत दिने पक्षमा उभिएको अवस्थामा सोमबारको बैठकपछि संचारमाध्यममा भनेजस्तै असाधारण समर्थन र विश्वासको मत आउने अवस्थाले राष्ट्रिय सहमतिको केन्द्रविन्दुमा परेको महसुस गरेको उनले बताए। उनले यो अपार विश्वास र समर्थनलाई न्यायपूर्ण सम्बोधन गर्न सक्ने हो वा होइन भन्ने आशंका बढाएको पनि बताए। सत्तासाझेदार दलहरुले राष्ट्रपतिको हस्ताक्षरसहित बुझाएको दलको समर्थन आउने भएपनि अरु दलको समर्थन आउने नसोचिएको अवस्थामा आज देखिएको समर्थनले आफ्ना प्रतिवद्धता कार्यान्वयनमा सहजतासँगै आफ्नो काँधमा निकै ठूलो जिम्मेवारी आएको बताए। यदी यो जिम्मेवारीलाई सही तरिकाले न्यायोचित सम्बोधन हुन सकेन भने इतिहासमा निकै ठूलो समस्या पनि पर्न सक्नेबारे आफू सचेत रहेको बताए। अहिलेका सत्तासाझेदार दलहरु निश्चित कार्यक्रम र नीतिका आधारमा एकताबद्ध भएको बताउँदै निर्वाचनमा जनताले व्यक्त जनमतकै आधारमा सरकार बनाएको र सोही आधारमा सरकारले नीति तथा कार्यक्रम साझा रुपमा अघि बढाउने बताए। सत्तासाझेदार दलबीचमै पनि कैँयन विषयमा सहमति मात्र नभएर विमति हिँजो पनि थियो र अहिले पनि भएको र सत्ता बाहिरका दलसँग पनि कतिपय विषयमा सहमति वा विमति भएपनि संविधानमा उल्लेखित प्रावधान र यसका भावना र मर्मप्रति आफू प्रतिबद्ध रहेको बताए। हिँजो संसद विघटन गर्नु सही थियो वा थिएन भन्ने कुरा अहिलेको विवादको विषय नभएको भन्दै विगतको समिक्षा गर्दै आउने दिनमा सदनलाई सर्वोपरी बनाउने कुरामा सबैको सहमति आवश्यक रहेको बताए। संविधान संशोधन र परिमार्जन नहुँदासम्म यही संविधानको भावना र मर्म बमोजिम सत्तासाझेदार दलहरु दायाँवायाँ नगरी अघि बढ्ने बचनवद्धता व्यक्त गरे। बहुदलीय व्यवस्था र संसदीय परम्पराको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले उठाएको विषयबारे कसैले प्रश्न उठाएपनि आफूले सकारात्मक रुपमा लिएको बताए। कुनै समय सुशील कोइराला प्रधानमन्त्री हुँदा विपक्षी दलको नेता हुँदा पनि उनलाई कतिपय विषयमा समर्थन दिएको प्रसंग उठाउँदै कांग्रेसको समर्थनलाई त्यो भन्दा बढी रुपमा लिन र बुझ्न नचाहेको बताए। नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको रिहाइका विषयमा सिंगो संसदले गम्भीरतापूर्वक लिएको बताउँदै आफूले चौधरी कैलाली घटनामा संलग्न नभएकोले उनलाई अन्यायबाट न्याय दिने कुरा गरेको बताए। अघिल्लो सरकारले अध्यादेशमार्फत नै भएपनि उनलाई छुटाउन खोजिएको बताउँदै अब ऐन बनाएरै भएपनि रेशम चौधरी लगायत अन्य राजबन्दीलाई छुटाउने पहल सरकारले गर्ने विश्वास दिलाए। निर्वाचन ऐनमा राखिएको थ्रेसहोल्डको विषयमा सदनभित्र छलफल गरी आवश्यक टुंगोमा पुग्न सकिने बताए। दौरा सुलवार र प्रचण्डको विषयमा आएका चर्चाबारे जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफू दौरा सलवारको विरोधी कहिल्यै पनि नभएको र अहिले पनि विरोधी नभएको बताए। आफूलाई विगतमा सजिलो मानेर सर्ट पाइन्ट लगाएपनि अहिले दौरा सलवार लगाउने अवसर मिल्यो भनि आफ्नो बचाउ गरे। आम जनताको मनोविज्ञान नबुझि क्रान्तिकारीताको भावनाले मात्रै चुनाव नजितेको भन्दै राष्ट्रपतिले पनि दौरा सलवार लगाएको देख्न मन छ भनेपछि उपयुक्त समयको पर्खाइमा रहेको बताए। आफूले बोलेको विषयमा सामाजिक संजालमा एउटा पनि नेगेटिभ कमेन्ट नदेखेपछि दौरा सलवार लगाएको भन्दै मधेसमा जाँदा कुर्ता सलवार, मुस्लिमकादेखि पहाडमा भोटे समुदायको भेषभुषा पनि लगाएको भन्दै दौरा सलवार सबै नेपालीको साझा पोशाकका रुपमा देखेर लगाएको भन्दै यसबारे धेरै चर्चा गरेर असहजताको स्थिति नबनाउन आग्रह गरे। पृथ्वीनारायण शाहको जन्म दिनमा सार्वजनिक विदा दिने निर्णय गरेका दाहालले आफूले विगतमा युद्धकालमा सबैभन्दा बढी शाहकै युद्धरणनीतिबारे अध्ययन गरेको बताए।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update