प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा गठन गरेको मन्त्रिमण्डलमा सात दलीय गठबन्धनका अतिरिक्त राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट पनि प्रतिनिधित्व गराएका छन्।
सोमबार भएको सत्ता गठबन्धनका शीर्ष नेताहरुबीचको सहमति पश्चात मंगलबार विस्तारित मन्त्रिमण्डलमा दलीय भागवण्डाले मात्र नभएर राष्ट्रपति भण्डारीलाई पनि मन्त्रालय छुट्याउनु परेपछि दाहाल नेतृत्वको मन्त्रिमण्डलले राजतन्त्रकालीन शासन व्यवस्था अर्थात ०४८ पछिको मन्त्रिमण्डलको झझल्को दिएको छ।
मंगलबार विस्तारित मन्त्रिमण्डलमा दाहालले राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित भएकी सांसद विमला राई पौडेललाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन्।
वामपन्थी राजनीतिमा संलग्न विमलाले केही समय राष्ट्रपति भण्डारीको सहयोगी सल्लाहकारका रुपमा पनि काम गरेकी थिइन्।
नयाँ संविधान जारी भएलगत्तै सम्पन्न पहिलो आम निर्वाचन पश्चात तत्कालिन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा सरकारको तर्फबाट सिफारिस गरी मनोनित हुने सांसदहरुको सूचि थन्क्याएर पछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमार्फत सिफारिस हुने तीन जनाको नाममा राईलाई पनि समावेश गराएकी थिइन्।
पहिलो कार्यकालमा गोलाप्रथाबाट कार्यकाल निर्धारण हुँदा ६ वर्षको कार्यकालमा परेकी राईलाई प्रधानमन्त्री दाहालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुम्पिएपछि कार्यकारी सरकार र संवैधानिक, आलंकारिकराष्ट्रपति भण्डारीबीचको क्षेत्राधिकार र स्वार्थमा थप रोचक मोड लिने सम्भावना बढेको छ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय