राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं नवनियुक्त उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेका छन्।
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति र मन्त्रालय बाँडफाँट पश्चात मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा मन्त्री पदमा नियुक्त लिङदेनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै कार्यभार सम्हालेपछि पहिलो निर्णयमा कार्यदल गठनलाई प्राथमिकतामा राखेका हुन्।
मंगलबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेको बताए।
आवश्यकता तथा प्राथमिकता निर्धारण गरी रणनीतिक योजना बनाउन मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको उनले जानकारी दिए।
उपप्रधानमन्त्री लिङदेनले योजनावद्ध ढङ्गले काम गर्न सकियो भने ठोस नतिजा निकाल्न सकिने दाबी गरे।
उनले ऊर्जा जलस्रोत तथा सिँचाई जस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्दा चुनौतीपूर्ण हुने भएपनि आफूले त्यसलाई अवसरमा बदल्ने प्रतिबद्धता पनि व्यक्त गरे।
पद तथा गोपनीयताको सपथ लिएलगत्तै पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुगेका लिङदेनले सनातन धर्ममा विश्वास गर्ने भएकाले कुनै पनि शुभकार्य गर्दा आराध्यदेवको दर्शन गर्नुपर्छ भन्नेमा विश्वास राख्ने भएकाले पशुपतिनाथको दर्शन गर्न गएको पनि बताए।
गणतन्त्रको अन्त्यगरी संवैधानिक राजतन्त्र, हिन्दुराष्ट्रको स्थापना गर्ने नारा लिएर चुनावमा उत्रिएका राप्रपा अध्यक्ष लिङदेनले त्यही गणतन्त्रात्मक नेपालको संविधान र शासन व्यवस्था अनुरुप सत्ता साझेदार दलहरुसँग शक्ति बाँडफाँटको सहमति पश्चात आफैँ मन्त्रिमण्डलमा सहभागी हुन पुगेका छन्।
बिक्रम पाण्डे, ध्रुबबहादुर प्रधान र दिपकबहादुर सिंहलाई क्रमशः मन्त्री र राज्यमन्त्री पदमा स्थान सुरक्षित गर्दै सरकारमा सहभागी राप्रपा अध्यक्ष लिङदेन मन्त्रिपरिषदमा प्रधानमन्त्री र अन्य तीन उपप्रधानमन्त्रीपछि पाँचौँ वरियतामा रहेका छन्।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय