हिमाल दैनिक
नेपाली कांग्रेसले प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवारी दिने वा नदिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफको पर्खाइमा केही समय कुर्ने भएको छ। बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्म्रबाराहीमा बसेको पदाधिकारीसहितको बैठकमा प्रधानमन्त्री दाहालसँग यसअघि भएको छलफलका आधारमा सभामुख पदका लागि उम्मेदवारी दिने अथवा सहमति कायम गरी अघि बढ्ने भन्नेबारे छलफल भएको थियो। पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार, सभामुखको उम्मेदवारीका विषयमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले आफू अझै पनि प्रमुख राजनीतिक दलहरुबीच सहमतिको प्रयासमा लागिपरेको जानकारी दिएको कारण केही समय कुर्ने र दाहालको जवाफ पश्चात पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिएर सहमतिकै आधारमा अघि बढ्ने टुंगो सभापति एवं कांग्रेस संसदीय दलका नेता देउवाले लगाउने बताए। गत पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुअघिल्लो दिन प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको छलफल पश्चात सहमतिका आधारमा अघि बढ्ने कुरा भएपछि कांग्रेसले विपक्षी दलको रुपमा सत्ता बाहिर बसेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो। जसको कारण कांग्रेस संसदमा सत्ता कि प्रमुख प्रतिपक्षी दल भनि पार्टी भित्र र बाहिरबाट प्रश्न उठिरहेको छ। यसका बाबजूद प्रधानमन्त्री दाहालले मंगलबार बोलाएको सर्वदलीय बैठकमा पनि राज्यका प्रमुख संवैधानिक निकायहरुमा राजनीतिक सहमतिका आधारमा अघि बढ्दा उपयुक्त हुने धारणा राखेपनि सत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति प्रकट गर्दै कांग्रेसले सभामुख वा राष्ट्रपति पदमा आँखा नलगाउन चेतावनी दिएका थिए। तथापि आजको कांग्रेस केन्द्रीय पदाधिकारीको बैठकमा सभापति देउवाले पार्टी पदाधिकारीसँग परामर्शपछि देउवाले अपरान्ह २ बजेसम्म प्रधानमन्त्री दाहालको जवाफको पर्खाइमा कुर्ने र त्यसपछि दाहालबाट आएको जवाफका आधारमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुसँग परामर्श गरी टुंगोमा पुग्ने तयारी भइरहेको छ। मंगलबार भएको सर्वदलीय बैठकको छलफल र अवस्थाको अवलोकन गर्दा सत्तारुढ दलहरुबीच विशेषगरी नेकपा एमालेले सभामुख पद कुनै हालतमा नछाड्ने सम्भावना प्रष्टै देखिएको छ। जसको कारण कांग्रेसले नेकपा एकीकृत समाजवादीसँग कुरा गरेर समाजवादीको उम्मेदवारलाई अघि सार्ने अथवा पार्टीबाट कुनै वरिष्ठ महिला सदस्यलाई सभामुखको प्रत्यासी बनाउने सम्भावना बढी देखिएको छ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update