प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली कांग्रेसकी नेत्री ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराएकी छिन्।
बिहिबार हुने सभामुख पदको निर्वाचनका लागि निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यतालिका बमोजिम बुधबार प्रमुख प्रतिपक्षी दल कांग्रेसको तर्फबाट उनले संसद भवन नयाँ वानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएकी हुन्।
न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा रहेका प्रमुख राजनीतिक दलहरुबीच आपसी समाझदारीका आधारमा राज्यका निकायमा प्रतिनिधित्व गराउने प्रस्ताव अघि सारेपछि दाहालप्रति विश्वास गर्दै दाहाललाई विश्वासको मत दिएको कांग्रेसले बुधबार अपरान्ह २ बजेसम्म दाहालको जवाफ कुरेपनि त्यसपछि सत्ता बाहिरका दलहरुको साथ लिएर कांग्रेसले सभामुखमा न्यौपानेलाई अघि सारेको हो।
मनोनयन दर्ता गर्न जानु अघि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीका अतिरिक्त नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र शरतसिंह भण्डारीका अतिरिक्त जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता रामसहाय यादवसँग पनि छलफल र परामर्श गरेका थिए।
विपक्षी बेन्चमा रहेका दलहरुबीच साझा उम्मेदवार तय गर्न देउवा, नेपाल र ठाकुरबीच भएको सहमति बमोजिम नै कांग्रेसका केही नेताहरुसहित न्यौपानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेकी थिइन्।
यसअघि आजै अपरान्ह नेकपा एमाले सांसद देवराज घिमिरेले एमाले, माओवादी, राप्रपा र रास्वपाको समर्थनमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका थिए।
पूर्व निर्धारित निर्वाचन कार्यतालिकाको समयसीमाभित्र सत्तागठबन्धनको तर्फबाट घिमिरे र विपक्षी दल कांग्रेसको तर्फबाट न्यौपानेले मनोनयन दर्ता गरेपछि बिहिबार बस्ने संसदको बैठकले सभामुखको चयन गर्नेछ।
कांग्रेसको समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी न्यौपाने कांग्रेसको १२औं महाधिवेशनदेखि निरन्तर केन्द्रीय सदस्यका रुपमा क्रियाशील राजनीतिकर्मी हुन्। उनी यसअघि ०६४ र ०७० सालको संविधान सभामा पनि सदस्यको रुपमा मात्र नभई दोस्रो संविधान सभामा कांग्रेस संसदीय दलको सचेतकको रुपमा समेत सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय