हिमाल दैनिक
हत्या आरोपित लक्ष्मी महतो कोइरीलाई सभामुख चयन प्रक्रियामा भाग लिन नदिन कांग्रेस सांसद खतिवडाको माग
Ramhari Khatiwada
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोगमा अदालतबाट पक्राउ आदेश जारी भएपनि संसदको बैठकमा निरन्तर उपस्थित हुँदैआएका नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई सभामुख चयन प्रक्रियामा मतदान गर्न नपाउने व्यवस्था गरेपश्चात मात्र सदनको कारबाही अघि बढाउन माग गरेका छन्। प्रतिनिधि सभाको बिहिबारको बैठकमा सभामुख निर्वाचन प्रक्रिया सुरु गर्दै सभामुखको कुर्सीबाट पशुपतिशम्शेर जबराले एमाले नेता सुवासचन्द्र नेम्वाङलाई बोल्न समय दिएलगत्तै नियमापत्ति गर्दै सांसद खतिवडाले यस्तो माग गरे। उनले भने, ‘अहिले सभामुखको निर्वाचन हुँदैछ, आज सभामुखको निर्वाचन हुने बेलामा हत्या अभियोग लागेका सांसद्हरु पनि यहीँभित्र छन् भन्ने सुनिन आएको छ। म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु हामी चिन्दौन उहाँलाई। यदि उपस्थित हुनुहुन्छ भने उहाँलाई मतदान प्रक्रियामा भाग लिन पाउने नपाउने निर्क्योल गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छु।’ मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरिक्षक थमन बिकको हत्यामा संलग्न भएको आरोपमा उच्च अदालतबाट थुनामा राख्न आदेश दिएपनि मधेसी दल छाडेर एमाले प्रवेश गर्दै महोत्तरीको क्षेत्र नम्बर १ बाट निर्वाचित कोइरीले यसअघि संसदमा सांसदको पद तथा गोपनीयताको सपथका अतिरिक्त यसअघि प्रधानमन्त्री निर्वाचनको प्रक्रियामा समेत भाग लिएर मतदान गरेपनि प्रहरीले उनलाई पक्राउ गर्न सकिरहेको छैन।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update