हिमाल दैनिक
माछालाई ढोक्सा होइन, बलियो पिँजडा बनाउन नदिन पनि न्यौपानेको उम्मेदवारी जायज छः विश्वप्रकाश शर्मा
Bishwoprakash
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालाले परिकल्पना गरेको संसदीय व्यवस्थामा संसदको सभामुखमा कोइरालाका असल अनुयायी ईश्वरी न्यौपानेको नाम प्रस्ताव अघि सार्न पाएकोमा सन्तोष लागेको बताए। विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ न्यौपानेलाई सभामुख पदका लागि प्रस्ताव गर्नुका पछाडि चार कारण रहेको बताए। शालिन र सुयोग्य नेतृ न्यौपानेले संविधान निर्माण प्रक्रियामा पनि आफ्नो सक्रिय भूमिका निर्वाह गरेको दाबी गर्दै प्रस्तावक शर्माले सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने मान्यताका आधारमा पनि न्यौपानेको उम्मेदवारी जायज भएको दाबी गरे। उनले संसदमा जिम्मेवार प्रतिपक्षी दलको भूमिकामा गम्भीरताका लागि मात्र नभई शक्ति सन्तुलन र जनमतको कदरका लागि पनि सभामुख पदका लागि न्यौपानेको उम्मेदवारी उपयुक्त भएको बताए। शर्माले ०७४ सालको अनुभवबाट हेर्दा पनि त्यतिबेला तत्कालिन नेकपाका एक अध्यक्षले प्रधानमन्त्री र अर्को अध्यक्षले सभामुख लिँदा एक वर्ष नवित्दै सरकारले सभामुखको सहयोग नपाएको आरोप प्रत्यारोपका कारण राष्ट्रले भोग्नु परेको समस्या पुनः दोहोरिन नदिन पनि न्यौपानेको उम्मेदवारी जायज भएको बताए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा कांग्रेसको समर्थनलाई माछालाई ढोक्सा नथाप्न भनेको प्रसंग उल्लेख गर्दै कांग्रेसले माछा र ढोक्सा होइन, संसदमा ओलीले प्रधानमन्त्रीलाई कसीलो पिँजडामा राख्न खाेजेकाे कारण पनि त्याे हुन नदिन जरूरी भएको बताए। बैठकमा शर्माले केपी ओलीले शंका गरेजस्तो कांग्रेसले कुनै ढोक्सा नथापेको उल्लेख गर्दै उल्टै ओलीले उच्चस्तरीय संयन्त्रको नाममा प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजको तर्क गर्दै कांग्रेसले माछा पर्छ भनेर ढोक्सा नथापेको बरु ओलीले नै माछा पर्ने पिँजडा कसिलो पारेको उनले बताए। त्यस्तै शर्माले सभामुख र शीतल निवासमा प्रतिपक्षीको उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुने र शक्ति सन्तुलन पनि हुने धारणा राखे। जुन देशका महिला दाइजो, घरेलु हिंसा र विभेदका कारण पछाडि परेका छन् त्यहाँका महिलाको सशक्तिकरणका लागि पनि न्यौपानेको उम्मेदवारी उपयुक्त प्रस्ताव रहेको दाबी गरे।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update