हिमाल दैनिक
संविधान र व्यवस्थामाथिको चुनौती सामना गर्न पनि न्यौपाने सभामुख हुनु पर्छः निधि
Bimalendra Nidhi
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने सभामुख पदका लागि उम्मेदवारको रुपमा अघि बढाएको नाम सदनका लागि नयाँ र नौलो नभएको बताए। सभामुख पदका लागि कांग्रेसले प्रस्ताव गरेको नाम ईश्वरीदेवी न्यौपानेको समर्थनमा धारणा राख्ने क्रममा नेता निधिले यसअघि लामो समय संविधान सभामा संविधान निर्माण प्रक्रियादेखि दलको सचेतकको भूमिकाका रुपमा मात्र होइन, संसदको बैठक संचालनका क्रममा सभामुखको भूमिका समेत निर्वाह गरेको योग्य पात्र भएको बताए। उनले न्यौपानेको व्यक्तिगत योग्यता, क्षमता र कल्पनाशिलताको चर्चा गर्दै उनले विद्यार्थी जीवनकालदेखि लोकतान्त्रिक संघर्षको जीवनकाल हुँदै निरंकुश राजतन्त्रको अन्त्यगरी लोकतन्त्रको स्थापनामा पनि अग्रपंक्तिमा रहेर आफ्नो भूमिका निर्वाह गरेको बताए। निधिले संसदको पहिलो बैठकमा प्रमुख दल विशेषगरी सरकारकै समर्थनमा रहेका नेता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रिित लक्षित गर्दै उनले बनाएको निती संसद र सरकारले लागू गर्नु पर्ने कुराले संसद र जनता झस्किएको बताए। उनले संसद विघटन प्रतिगमन नभएको भन्ने विचारप्रति आपत्ति प्रकट गर्दै नेपालको संसद वेलायत र भारतको वा अन्य कुनै देशको जस्तो नभएको भन्दै विकल्प भएसम्म सरकारको विकल्प सदनले दिने दाबी गर्दै ओलीले संसद विघटन प्रतिगमन होइन भन्नु चिन्ताजनक धारणा भएको बताए। उनले विगतमा नेपालमा गणतन्त्र ल्याउने भनेको वयल गाढामा अमेरिका जाने भनेजस्तै भनेको स्मरण गर्दै अहिले राजनीतिमा संविधान, संघीयता, लोकतन्त्र, समावेशीताको सफल कार्यान्वयन गर्न संसद र दलहरु क्रियाशील हुनु पर्नेमा संसद विघटन प्रतिगमन होइन भन्ने कुराले संविधान, संघीयता, गणतन्त्रमाथि हुन सक्ने खतरालाई ध्यानदिई विपक्षी दलले पनि सरकारलाई विश्वासको मत दिएको बताए। सरकारलाई विश्वासको मत दिँदा सत्तापक्षले खुशी व्यक्त गर्नुको सट्टा आशंका व्यक्त गर्नु आफैमा आश्चर्यको विषय भएको उनले बताए। प्रधानमन्त्रीले सर्वदलीय बैठकमा सबैलाई विश्वासमा लिएर अघि बढ्ने कुरा गरेको स्मरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दुई मत बाहेक सदनको सम्पूर्ण सदस्यको समर्थन पाउँदा प्रधानमन्त्रीका समर्थक ओलीले खुशी व्यक्त नगरेकोमा यसलाई प्रतिशोधको भावनाले हेरेको बताए। यस्तो अवस्थामा संसदको पूरा कार्यकाल चलाउन र शक्ति सन्तुलनको कायम गर्न पनि न्यौपानेको उम्मेदवारी जायज भएको निधिले दाबी गरे।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update