प्रतिनिधि सभामा नयाँ सभामुख चयन प्रक्रिया सुरु हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउतले सिंगो संसदलाई एक मिनेट मौन धारण गर्न बाध्य गराए।
सभामुखको उम्मेदवारी दिएका एमाले उम्मेदवार देवराज घिमिरेको पक्षमा मत माग्न पुगेका राउतले माघ ५ गते मधेस आन्दोलन सुरु भएको प्रसंग उल्लेख गर्दै उक्त आन्दोलनमा शहिद भएका व्यक्तिहरुको सम्झनामा सिंगो सदनलाई उठेर एक मिनेट मौन धारण गर्न आग्रह गरे।
उनले गरेको घोषणा लगत्तै सुरुमा उनको दल र पछि विस्तारै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता पक्षका सांसद उठेर मौन धारण गरे।
त्यसपछि बोल्ने क्रममा उनले अझै पनि आफ्नो दल सत्तापक्षमै रहेको जानकारी गराउँदै सभामुख निर्वाचनमा आफ्नो दलले एमाले उम्मेदवार घिमिरेलाई मत दिने जानकारी दिए।
यसअघि जनता समाजवादी पार्टीले पनि एमाले उम्मेदवारको पक्षमा मत दिने जानकारी गराएको थियो।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय