प्रतिनिधि सभाको सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्।
बिहिबार प्रतिनिधि सभाको बैठकमा सत्तारुढ नेकपा एमाले सांसद सुवास चन्द्र नेम्वाङले घिमिरेलाई निर्वाचित गरियोस् भनि राखेको प्रस्तावको पक्षमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टीसहित केही स्वतन्त्र सांसदहरुले समेत समर्थन जनाएपछि नवनिर्वाचित संसदको सभामुखमा घिमिरे निर्वाचित भएका हुन्।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चाको समर्थनमा सांसद ईश्वरीदेवी न्यौपानेको नाम प्रस्ताव गरेपनि निर्वाचन समिति समक्ष पहिलो दर्ता क्रममा रहेको एमाले सांसद घिमिरेको नाममाथि सभामुखले मत विभाजनको प्रक्रिया सुरु गर्दा उनको पक्षमा स्पष्ट बहुमत देखिएपछि न्यौपानेको नाममा मतविभाजनको प्रक्रियामा जानु परेन।
संसदमा रहेका सबै दल र स्वतन्त्र सांसदहरुले दुबै उम्मेदवारहरुको पक्ष र विपक्षमा अभिव्यक्ति दिएपछि सभामुखको कुर्सीबाट बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य पशुपति शम्शेर जबराले पहिले घिमिरेको नाममाथि मत विभाजनको प्रक्रिया सुरु गरे।
यसरी सुरु भएको मतविभाजन प्रक्रियामा एमाले, माओवादी केन्द्र लगायतका बहुमत सदस्यले घिमिरेको पक्षमा मत दिए भने कांग्रेस, नेकपा एस, लोसपा लगायतका सांसदले विपक्षमा मत दिए।
आजको बैठकमा उपस्थित कुल २६८ सदस्यमध्ये घिमिरेको पक्षमा १६७ मत परेको थियो भने उनको विपक्षमा १०० मत परेको भन्दै सभामुखको कुर्सीबाट जबराले संसदको बहुमत अर्थात १ मत प्राप्त गर्ने घिमिरे संसदको नयाँ सभामुख पदमा निर्वाचित भएको घोषणा गरे।
दुबै उम्मेदवार कुनैलाई पनि मत दिन्न भन्ने सांसदका रुपमा नेमकिपाका प्रेम सुवाल मात्र रहेका थिए।
संसदको बहुमतले घिमिरेलाई सभामुखमा निर्वाचित गराएपछि जबराले अर्को प्रत्यासी न्यौपानेको प्रस्ताव निर्णय प्रक्रियामा अघि बढाइरहनु नपर्ने जानकारी दिँदै नवनिर्वाचित सभामुखलाई बधाई दिए।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय