प्रतिनिधि सभाको बिहिबारको बैठकमा प्रतिनिधि सभाको नयाँ सभामुख चयनको कार्यसूचिमाथि छलफल प्रक्रिया जारी थियो।
सत्तारुढ नेकपा एमालेले सांसद देवराज घिमिरेलाई सत्ता गठबन्धनको तर्फबाट नयाँ सभामुखको प्रत्यासी बनाएको थियो भने, प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो।
जेष्ठ सदस्यको हैसियतले सदनको अध्यक्षता गरिरहेका सांसद पशुपतिशम्शेर जबराले प्रस्तावित नामहरुमाथि सामान्य छलफल चलाए। यसका क्रममा दलीय आधारमा विभिन्न दलका सांसदहरुले घिमिरे र न्यौपानेको पक्ष र विपक्षमा आफ्नो र आफ्नो दलको धारणा राख्ने क्रम चल्यो।
सोही क्रममा पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका जनमत पार्टीका अध्यक्ष एवं सांसद चन्द्रकान्त (सिके) राउत रोष्ट्रममा बोल्न पुगे।
उनले आजभन्दा १६ वर्षअघि आजैका दिन अर्थात माघ ५ गतेबाट सुरु भएको मधेस आन्दोलनका क्रममा मारिएका शहिदहरुको सम्झना गर्दै उनीहरुको सम्झनामा सदनसमक्ष एक मिनेट मौन धारणको प्रस्ताव गर्दै समय सुरु भएको भनि घडी हेरे।
त्यसपछि सदनमा आ–आफ्नो कुर्सीमा बसेका मधेसी दलका सांसददेखि क्रमशः सत्ता र विपक्षमा बसिरहेका सांसदहरु उभिएर मौन धारण गरे।
हेर्न र सुन्नका लागि राउतको प्रस्तावसँगै उनको आदेश बमोजिम सांसदहरु उभिएर मौन धारण गर्नु राम्रो होला। तर, संसदीय इतिहास र अभ्यासमा एउटा सांसदले सदनमा आदेश दिने र पालना हुने कार्य नौलो हो।
किन भने, सदनभित्रको दैनिक कार्यसूचि तय गर्नेदेखि बैठकको सम्पूर्ण संचालनदेखि नियन्त्रण सभामुखमा निहित हुन्छ।
यसबारे प्रतिक्रिया दिँदै पूर्व सभामुख तारानाथ रानाभाटले हिमाल दैनिकसँग भने, ‘संसदभित्रको सबै गतिविधि र कार्यसूचि सभामुखले नियन्त्रण र निर्देशन दिए अनुसार चल्नु पर्छ। यदी कुनै दल वा सांसदले विशेष प्रस्ताव अघि सार्दैछ भने पनि बैठकपूर्व कार्य व्यवस्था परामर्श समितिमा भएको छलफल र निर्णयका आधारमा मात्रै हुन्छ।’
आजेको बैठकमा रावतले रोष्ट्रमबाट गरेको आग्रहपछि सदनमा उपस्थित सांसद पनि मौन धारण गरेको विषयमा उनले सभामुखको कुर्सीबाट हुनु पर्ने वा गर्ने गराइने आदेश, आग्रह वा निर्देशन कुनै पनि सांसदले गर्न नपाउने बताए।
‘यदी कसैलाई रोष्ट्रममा गएर बोल्दै गर्दा अथवा कुनै विषयमा मौन धारण गर्ने चाहना भए निज सदस्य स्वयंले मौन धारण गर्न सक्छ तर, सिंगो सदनलाई प्रभावित गर्नेगरी सभामुखले जस्तो गर्न पाउँदैन। यो संसदीय अभ्यासभित्रको कुरा होइन,’ रानाभाटले भने।
तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले रावतले आजको बैठकमा गरेको मौन धारणको विषयमा धेरै आपत्ति गर्नु नपर्ने बताए।
उनले भने, ‘कतिपय समयमा कुनै सांसदलाई केही कुरा भन्दैगर्दा उसले भनेका कुरा राम्रो लाग्यो भने अरु सदस्यहरुले टेबल ठोकेर समर्थन जनाउँन पाउँछन् भने रावतले मौन धारणको प्रस्ताव गरे। उपस्थित सदस्यहरुले समर्थन जनाएर उभिए, यसमा खासै विवादको विषय बनाइरहनु जरुरी छैन।’
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय