नेपाली कांग्रेसका नेता शेखर कोइरालाको नेतृत्वमा रहेको समूहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीले विश्वासको मत दिनु गलत भएको निश्कर्ष निकालेको छ।
आइतबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको कोइराला समूहका नेता तथा सांसदहरुको भेलाले विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको र अब सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नु पर्ने निष्कर्ष निकालेको हो।
गत पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहाललाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो। यसरी पार्टीले निर्णयमा पुग्नुअघि भएको पदाधिकारी, पार्टी केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकमा महामन्त्री गगनकुमार थापासहितका केही नेताले दाहाललाई विश्वासको मत दिन नहुने अडान राखेका थिए भने नेता कोइरालाले तत्कालको अवस्थामा विश्वासको मत दिँदा प्रतिपक्षी दलको भूमिकामा कानूनी प्रश्न उठ्न सक्छ भने कांग्रेस तटस्थ बस्न उपयुक्त हुन सक्ने राय दिएका थिए।
तर, त्यी सबै बैठकमा सभापति शेरबहादुर देउवा पक्षको बहुमत कायम भएकोले बहुमतकै आधारमा निर्णय गर्दै पार्टीले दाहाललाई विश्वाको मत दिएको थियो। जसकाबारेमा अहिले पनि सदनदेखि सडक र सामाजिक संजालमा कांग्रेसको हैसियतमाथि प्रश्न उठिरहेको छ।
आजको छलफलमा प्रधानमन्त्रीलाई तत्कालिन अवस्थामा विश्वासको मत दिएपनि अब सदनभित्र स्पष्ट रुपमा कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा अधिकांश सदस्यको जोड रहेको कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीले बताए।
यसअघि गठबन्धन गरेर नै निर्वाचनमा गएको कांग्रेस ठूलो पार्टी हुँदा पनि सरकार बन्ने बेला गठबन्धन टुट्नु पार्टीको कमजोरी भएको उनको भनाइ छ।
तत्कालिन सरकारका प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक संसद विघटन गरेर संविधान र व्यवस्थामाथि धावा बोलेपछि १८ महिनाअघि तत्कालिन नेकपा एमालेकै नेता माधवकुमार नेपालसहितका केही नेतादेखि माओवादी केन्द्रका अध्यक्ष दाहालसमेतले त्यो प्रतिगमनलाई रोक्न कांग्रेससँग सहमति कायम गर्दै वैकल्पिक सरकार बनाएका थिए। उक्त सरकारले स्थानीय तहदेखि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा चुनावी तालमेल र गठबन्धन गरेर गएपनि निर्वाचन परिणाम सार्वजनिक भएपश्चात सरकार गठनको विषयमा सहमति नहुँदा दाहाल ओलीको शरणमा पुगेका थिए।
यसरी कांग्रेस नेतृत्वको लोकतान्त्रिक–वाम गठबन्धन भत्किएपछिको समयमा पनि दाहालले देउवासँग गरेको भेटवार्ता पश्चात सभापति देउवाले दाहाललाई विश्वासको मत दिनु पर्ने निर्णय गराएका थिए। यसरी विश्वासको मत दिने सहमतिलाई पार्टीभित्र र बाहिरबाट आसन्न राष्ट्रपति निर्वाचनमा हुन सक्ने कांग्रेस–माओवादी तालमेलको रुपमा अथ्र्याउँदै आइएको छ।
भण्डरीले कांग्रेस प्रतिपक्षीमा बस्ने वा राष्ट्रपति पाउँछु भनेर दौडने भन्ने बिषयमा बैठकमा छलफल भएको जानकारी समेत दिए।
आफुहरुको छलफल कसैप्रति लक्षित नभएको र पाटीलाई बलियो बनाएर अघि बढाउनका लागि भएकाले आगामी संसदको बैठक र केन्द्रीय कार्यसमिति बैठक अघि ठोस निष्कर्ष निकाल्ने भण्डारीले बताए।
यसका अतिरिक्त कोइराला समूहको भेलामा उपसभापति धनराज गुरुङले आगामी १५औं महाधिवेशनमा पार्टी सभापतिमा नेता कोइरालालाई उठाउने गरी अहिलेदेखि नै संगठन विस्तारमा लाग्नु पर्ने प्रस्ताव अघि सारेको बैठकमा सहभागी एक नेताले बताए।
उपसभापति गुरुङको प्रस्तावप्रति रुपान्तरणको नारा लिएर पार्टीमा नेतृत्व लिने कसरतमा रहेका महामन्त्री गगनकुमार थापाको पनि सहमति रहेको बताइएको छ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय