हिमाल दैनिक
नेपाली कांग्रेसले आसन्न राष्ट्रपतिको निर्वाचनमा पार्र्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास धुम्ब्रबाराहीमा सोमबार बसेको पार्टी वर्तमान तथा पूर्व पदाधिकारी लगायतका शीर्ष नेताहरुको बैठकले राष्ट्रपति पदको निर्वाचनमा पार्टीको तर्फबाट उम्मृेदवारी दिने निणर्य गर्दै यसका लागि आवश्यक समर्थन जुटाउन सबै नेताहरु क्रियाशील हुने जानकारी पार्टी प्रवक्ता प्रकाशशरण महतले दिए। साथै कांग्रेसले संविधान र कानून बमोजिम राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन समयमै गराउन पनि निर्वाचन आयोग र सरकारसँग माग गरेको छ। कानून बमाेजिम राष्ट्रपतिकाे निर्वाचन माघ २९ गतेभित्र सम्पन्न गरिसक्नु पर्ने व्यवस्था छ भने संविधानकाे प्रावधानले वर्तमान राष्ट्रपतिकाे कार्यकाल फागुन २९ गते समाप्त हुँदैछ। संविधान र कानूनमा रहेको अन्तरविरोधलाई आधार बनाएर नेकपा एमालेको हितमा हुनेगरी निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति परधकेल्ने जानकारी पाएपछि कांग्रेसले समयमै यी पदको निर्वाचन गराउन आयोग र सरकारको ध्यानाकर्षण गराएको हो। संसदको सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहन पुगेको कांग्रेसले यसअघि संसदको सभामुख र उपसभामुख पदमा उम्मेदवारी दिएपनि नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएन। गत पुस १० अन्तिम समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसहित सात दलीय गठबन्धनमार्फत सरकारको नेतृत्व लिन पुगेको थियो। त्यसपछि विपक्षी दलको रुपमा खुम्चिन बाध्य भएको कांग्रेससँग प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालले पुस २५ गते देउवासँग भेटवार्ता गर्दै सहमतिका आधारमा अघि बढ्ने आधार तय गर्न पनि पुस २६ गतेको संसदमा विश्वासको मत दिन आग्रह गरेका थिए। जसलाई देउवाले पार्टीभित्र छलफल गरी निर्णय गर्दै दाहाललाई विश्वासको मत दिएपछि यसबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले आशंका व्यक्त गरेका थिए भने कतिपय राजनीतिक विश्लेषकदेखि कांग्रेसजनले देउवा र दाहालबीचको सहमति राष्ट्रपति पदका लागि हुन सक्ने अड्कलबाजी गरेका थिए। यसैगरी आज बसेको पार्टी नेताहरुको बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको प्रवक्ता महतले जानकारी दिए। कांग्रेसभित्र एकता छैन र भन्ने प्रश्नको जवाफमा महतले आइतबार मात्रै पार्टी नेता शेखर कोइराला नेतृत्वमा रहेको समूहको भेलामा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गलत भएको भन्दै पार्टीले उक्त विश्वासको मत फिर्ता लिनुपर्ने भनि आएको समाचारका अतिरिक्त आगामी १५औं अधिवेशनको तयारीमा जुट्नेबारे आएको समाचारबारे पनि छलफल भएको थियो। पार्टी सभापति लगायतका नेताहरुले यसबारे चासो व्यक्त गरेपछि नेता कोइरालाले आफूहरुले आइतबार आफ्नो विचार समूहका साथीहरुबीच छलफल गरेपनि सरकारलाई दिएको विश्वासको मत दिएर गल्ती गरेको र उक्त विश्वासको मत फिर्ता लिने जस्ता अभिव्यक्ति नदिएको भन्दै पार्टीभित्र विभाजनको रेखा कोर्न संचारमाध्यममा गलत समाचार प्रकासित भएको जानकारी गराएको महतले बताए। ‘नेता कोइरालाले आफूले हिँजोको भेलामा बोल्दै नबोलेको मात्र होइन, महामन्त्री गगनकुमार थापा लगायतका नेताहरुले पनि यसबारे केही नबोलेको स्पष्टिकरण दिँदै यसरी बोल्दै नबोलेका विषय समाचारमा आउनुले पार्टीमा कृतिृम विभाजनको रेखा कोर्ने प्रयास भइरहनु दुःखद छ,’ प्रवक्ता महतले कोइरालाको भनाई उल्लेख गर्दै भने। आइतबारको भेलामा कोइराला समूहका नेताहरुले आगामी नेतृत्वमा कोइरालालाई स्थापित गर्नेगरी सबै तहमा सक्रियताका साथ लाग्ने समाचार प्रकासित भएको थियो।
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update