सरकारको नेतृत्व कर्ता दल नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयबारे कुनै निर्णय नगर्ने स्पष्ट पारेको छ।
पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय नहुने अडान लिँदै त्यतिबेलासम्म गृहमन्त्रालय प्रधानमन्त्री मातहतमै रहने पनि स्पष्ट पारेको हो।
बैठकपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतको पूर्णपाठ कुर्नुपर्ने सुझाव आएको बताए।
उनले वर्तमान सत्ता गठबन्धनलाई टुट्न नदिन निरन्तर छलफल भइरहेको उल्लेख गर्दै सबै बिषयमा सल्लाह भइरहेको र ठोस निष्कर्षमा पुगिने जानकारी दिए।
नेपालको नागरिकता लिएर अमेरिका पुगेका रबि लामिछानेले अमेरिकाको नागरिकता लिएपछि पनि पुनः नेपाल फर्किएर अमेरिकी नागरिकता परित्याग गरेको घोषणा गरेका थिए। तर, विदेशको नागरिकता परित्याग गरेपछि नेपालको नागरिकता पुनःप्राप्तिको प्रक्रियामा नगएका लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा संवैधानिक इजलासले गत शुक्रबार लामिछानेको नागरिकता पुरानो नागरिकता कायम नरहेको भन्दै सांसद पदको उम्मेदवार समेत बन्न योग्य नभएको भन्दै चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद लामिछानेको पद खारेज गरिदिएको थियो।
त्यसपछि सांसदसँगै उपप्रधान तथा गृहमन्त्री र पार्टी अध्यक्षको पद समेत गुमाउन पुगेका लामिछानेले आइतबार नै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएपछि पार्टीको अध्यक्षमा पुनः मनोनित भएको घोषणा गराउँदै सरकारको गृहमन्त्री पदमा आफूलाई नियुक्त गर्न प्रधानमन्त्री दाहाललाई दबाब दिएका थिए।
त्यसका बाबजूद दाहालले लामिछानेलाई गृहमन्त्री बनाउन तयार नभएपछि उनले आजै बिहान मात्रै पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गदैृ आज साँझसम्ममा आफूलाई गृहमन्त्री तथा उपप्रधानमन्त्रीमा नियुक्त नगरे आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्कीपूर्ण आग्रह गरेका थिए।
तथापि दाहालले लामिछानेलाई मात्र होइन, गृहमन्त्रालयको जिम्मेवारी लामिछानेको पार्टीलाई नै नदिने अडान दोहोर्याएका थिए।
त्यस्तै माओवादी प्रवक्ता कृष्ण बहादुर महराले अदालतबाट पूर्णपाठ आउन बाँकी रहेकाले फैसला नआएसम्म निर्णय नहुने जानकारी दिए।
अहिले प्रधानमन्त्रीले नै गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनले बताए। उनले राष्ट्रपति निर्वाचनका बिषयमा एमालेसहितको राष्ट्रिय सहमति खोजिने जानकारी पनि दिए।
पदाधिकारी बैठकमा स्थायी कमिटी बैठकको सम्पूर्ण तयारी गरिएको प्रवक्ता महराले जानकारी दिए।
स्थायी कमिटी बैठक बुधबार बस्ने र महत्वपूर्ण निर्णय गर्दै बुधबार नै सम्पन्न गर्ने माओवादी तयारी छ। माओवादीले कम्तीमा तीन महिनाको कार्ययोजना बनाएर त्यही अनुसार जिम्मेवारी बाँडफाट गर्ने तयारी गरेको प्रवक्ता महराले बताए।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय