हिमाल दैनिक
कांग्रेस सांसद बस्नेतद्वारा संसदमा सत्तापक्षकै सांसदलाई अलगथलग राख्न सभामुखसँग आग्रह
Mohan b basnet
सरकारमै सहभागी दलका सांसदहरुबीच संविधान र व्यवस्थाको विषयलाई लिएर सदनभित्र एकअर्काप्रति आरोप÷प्रत्यारोपको सुरुवात भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सरकारभित्रै पक्ष र विपक्षको कुर्सी अलग गर्न सभामुखको ध्यानाकर्षण गराएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा कांग्रेस सांसद मोहनबहादुर बस्नेतले सदनमा सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुबीच जुहारी चलेपछि यस्तो धारणा राखेका हुन्। उनले भने, ‘नेपालकै पार्लियामेन्टमा संसद भवनमा पनि पहिले झगडा धेरै भएको रहेछ। तर, त्यो झगडा पक्ष र प्रतिपक्ष, सरकार र प्रतिपक्षको बिचमा भएको थियो। संसारभरका संसदहरुमा पनि यस्तै झगडा हामीले टिभिमार्फत हेरेका छौँ। त्यो पनि पक्ष र प्रतिपक्षकै बिचमा भएका हुन्। अब यहाँ चाहीँ सरकार पक्षकैबीचमा झगडा हुन थालेपछि यहाँ सरकार र प्रतिपक्षलाई जुन रो विभाजित गरिएको छ, त्यसैगरी सत्तापक्षभित्रै पनि सरकार र प्रतिपक्षका रुपमा विभाजित गरेर राखिदिनु भएन भने भविश्यमा यहाँ ठूलो झगडा हुने सम्भावना हामीले देखेका छौँ,’ उनले भने। सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गर्दै उनले सत्तापक्षकै सांसदहरुबीच जुन झगडाको स्थिति उत्पन्न भयो यसले संसदमा झगडा हुन सक्ने भन्दै ‘उहाँहरुबीचमै अलग हुन जरुरी छ।’ बस्नेत भन्दा अगाडि बोल्ने क्रममा एमाले सांसद रघुजी पन्त र शक्तिबहादुर बस्नेतले धर्म निरपेक्षता, संघीयता, गणतन्त्रको विषयमा सरकारमै बसेका राप्रपाका मन्त्रीले जे जसरी सार्वजनिक अभिव्यक्ति दिएका छन् त्यो संविधान र व्यवस्था विपरित भएको भनि प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका थिए। पन्त र बस्नेतले बोलेलगत्तै प्रतिवादमा उत्रिएका राप्रपा सांसद ज्ञानबहादुर शाही र धवलशम्शेर जबराले आफूहरु जनताको मतबाट यो व्यवस्था र संविधानका कतिपय प्रावधान बदल्नै आएको भन्दै यसमा कसैले रोक लगाउन नसक्ने चुनौति दिएका थिए।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update