हिमाल दैनिक
नागरिकता विवादका कारण एकैपटक उपप्रधानमन्त्री तथा गृहमन्त्री लगायतका चार चार पदबाट केही समयका लागि भएपनि हात धुनुपरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रबि लामिछानेले आफ्नाविरुद्ध उत्रिएकाहरुलाई जे गर्नु छ आजै गरिहाल्न चुनौती दिएका छन्। गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता वैध नभएको भन्दै चितवन २ बाट उम्मेदवार नै बन्न अयोग्य व्यक्ति सांसद पदमा निर्वाचित भई प्रमाणपत्र समेत लिएकोमा उनको सबै पद बदर गरिदिएपछि गृहमन्त्री पदबाट पनि पदमुक्त हुनु परेको थियो। आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा हतार हतार पुगेर अमेरिकी नागरिकता परित्यागको निस्सा बुझाउँदै नागरिकता ऐन र नियमावलीको व्यवस्था बमोजिम जानकारी गराएका रबिलाई प्रशासनले कुनै सोधखोज र परिक्षणविना नै नागरिकता प्रमाणपत्र उपलब्ध गराएको थियो। त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्दै पुनः आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न दबाब दिन थालेका लामिछानेको विषयमा सत्तासाझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि साथ दिएका थिए। यसका बाबजूद प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्रालय रबि वा उनको दललाई दिन नसक्ने अडान लिएपछि रबिले आज पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। लामिछानेको विषयमा विभिन्न पत्रपत्रिका र समाचारमाध्यमहरुमा आलोचनात्मक टिप्पणीसहितका लेख रचनाका अतिरिक्त सामाजिक संजालमा उनका समर्थकहरुले बचाउमा एकअर्काप्रति आरोपप्रत्यारो जारी राखिरहेकै बेला लामिछानेले बिहिबार ट्वीटरमार्फत आफ्ना विरुद्धमा लागेकालाई आजैसम्म जे गर्न छ गरिहाल्न चुनौती दिएका हुन्। उनले भनेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’ https://twitter.com/hamrorabi/status/1621049425660637185
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update