हिमाल दैनिक
राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले माओवादीलाई सघाउन सम्भावना बढ्यो
Ramesh lekhak
नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने÷नदिने विषयमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसँग छलफल गरेर अघि बढ्ने भएको छ। बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्ब्रबाराहीमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले माघ २३ गते हुने राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने वा के गर्ने भन्नेबारे छलफल गरेको थियो। बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं नेता रमेश लेखकले उपाध्यक्ष पदका लागि माघ २२ गते मनोनयन दर्ता गर्ने र २३ गते राष्ट्रिय सभामा निर्वाचन हुने कार्यक्रम रहेको अवस्थामा यसबारे अन्य दलहरुसँग पनि छलफल र परामर्श गरी निर्णयमा पुग्ने जानकारी दिए। विगत १८ महिनादेखि सत्ता गठबन्धन गर्दै गत आम निर्वाचनसम्मै नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर आएको कांग्रेसले गत पुस १० गते सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिन अस्विकार गरेपछि दाहालले कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमालेसहित अन्य ६ दलसँगको तालमेलमा सरकार गठन गरेको थियो। फलस्वरुप केन्द्रदेखि प्रदेश तहसम्मै सत्ता बाहिर रहन पुगेको कांग्रेसले पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर माओवादीसँग चिस्सिँदै गएको सम्बन्ध सुमधुर बनाउने प्रयास सुरु गरेको थियो। यसबाट सत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमा बेचैनीको अवस्था उत्पन्न भएपछि रणनीतिक रुपमा कांग्रेसले थप कदम चाल्दै गयो। अर्थात प्रतिनिधि सभामा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुख पदका लागि भएको निर्वाचनमा भने आफ्नै दलको तर्फबाट उम्मेदवारी दर्ता गराएर एमालेका उम्मेदवारलाई सभामुख र रास्वपाका उम्मेदवारलाई उपसभामुखमा निर्विरोध हुनबाट रोकेको थियो। तर, माओवादीप्रति लचिलो निति अपनाउँदै आएको कांग्रेसले राष्ट्रिय सभामा उपाध्यक्षका लागि गठबन्धनको तर्फबाट माओवादीकै उम्मेदवार उठ्नसक्ने अवस्थामा आफ्नो दलको उम्मेदवारी प्रस्तुत नगर्ने सम्भावना प्रबल रहेको स्वयं कांग्रेसकै शीर्ष नेताहरु पनि स्वीकार्छन्। त्यस्तै आजको बैठकले पार्टी संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनमा बोलाउने निर्णय गरेको जानकारी प्रमुख सचेतक लखेकले दिए। लेखकले प्रधानमन्त्रीले राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रिय सहमति खोज्ने बताइरहेकोले यसबारे छलफल गर्न कांग्रेस तयार रहेको धारणा राखे। दाहाललाई विश्वासको मत दिँनुअघि भएको अनौपचारिक छलफलमा राष्ट्रपति पदमा सत्ता गठबन्धनको तर्फबाट एमालेको दाबी रहेको भएपनि माओवादी अध्यक्ष दाहालले त्यो सम्भव नभएको भन्दै सहमतिका आधारमा चयन हुने बताएपछि कतिपयले यसलाई कांग्रेसप्रतिको लचिलो नितिका रुपमा पनि लिएका छन्। विगतमा राष्ट्रपतिले आलंकारिक संस्थाको प्रतिनिधित्व गर्ने भन्दा पनि संवैधानिक रुपमा सक्रियता देखाएपछि कांग्रेस र माओवादीले राष्ट्रपतिमा एमाले वा एमाले अध्यक्ष ओलीको सिफारिस बमोजिमको व्यक्ति चयन गर्न नहुने निश्कर्षमा रहेका छन्। त्यस अवस्थामा कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि पार्टीका तर्फबाट तयारी भइरहेको जानकारी पनि उनले दिए। मुख्य सचेतक लेखकले पार्टी संसदभित्रको काममा व्यस्त भएकाले केन्द्रीय कार्यसमितिको बैठक केहि समयमा लागि सारिएको जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update