हिमाल दैनिक
संघीय संसदमा प्रतिनिधित्व गर्ने बिपक्षी दलहरुको बैठकले आइतबार बिहानसम्म राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारबारे टुङ्गो लगाउने भएका छन्। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकम राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी दिनेबारे छलफल भएको थियो। विगत एक वर्षदेखि रिक्त रहँदै आएको राष्ट्रिय सभा उपाध्यक्षका लागि माघ २२ गते मनोनयन दर्ता गरी २३ गते राष्ट्रिय सभा बैठकमा निर्वाचन हुँदैछ। त्यसका लागि कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतका विपक्षी दलले मिलेर साझा उम्मेदवार अघि बढाउने वा के गर्ने भन्नेबारे आइतबार बिहानसम्ममा टुंगो लगाउने सहमति भएको बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए। बैठकपछि लेखकले संघीय संसदमा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रहेर छलफल भएको बताउँदै आइतबार बिहानसम्ममा यस सम्बन्धमा आवश्यक निर्णय गर्ने जानकारी पनि उनले दिए। नागरिकता विवादमा मुछिएर सांसद पदसँगै गृहमन्त्रालयको नेतृत्व गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियालीरहेको प्रतिक्रिया लेखकले दिए। त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय सभा उपाध्यक्ष र अरु पदका सम्बन्धमा कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल भएको बताए। देशमा पछिल्लो समय विकसित परिस्थितिका आधारमा छलफलमा बसेर टुङगोमा पुगिने उनको भनाई छ। बैठकमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी थिए।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update