हिमाल दैनिक
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि वर्तमान सत्तासमिकरण टिक्न नसक्ने दाबी गरेका छन्। शनिबार ललितपुरमा पार्टीको पाँचौ केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताका बिषयमा सरकारमै सहभागी दलहरुबीच अहिले नै खटपट सुरु भइसकेको भन्दै राष्ट्रपतिको चुनावपछि वर्तमान सत्तासमिकरण टिक्न नसक्ने दाबी गरेका हुन्। अध्यक्ष नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकाबीचमा भएको सहमति एमालेकै कारण टुटेको र चुनावको परिणाम आएपनि नयाँ शक्ति सन्तुलन बन्न पुगेको धारणा राखे। आगामी फागुन २५ गतेका लागि तय भएको राष्ट्रपति पदको निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलको तर्फबाट उम्मेदवार अघि सार्न लागेको अवस्थामा प्रधानमन्त्री दाहालले यसबारे राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नु पर्ने धारणा राखेपछि सत्ता गठबन्धनभित्रको आन्तरिक सन्तुलनमा खलबलीका संकेतहरु देखा पर्दैछन्। यसको प्रारम्भ गत पुस २६ गते प्रधानमन्त्री दाहाललाई प्रमुख विपक्षी दल कांग्रेस लगायत विपक्षमा बसेका दलले समेत विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओली दाहालसँग थप बढी सशंकित बन्न पुगेका थिए। यही आधारमा नेता नेपालले अब वर्तमान गठबन्धनले राष्ट्रपति निर्वाचनपछि प्रचण्डलाई थेग्न नसक्ने धारणा राखेका हुन्। अध्यक्ष नेपालले चूनावमा लोकप्रिय मत पाएका दलहरुको पछिल्लो क्रियाकलापले धेरै नटिक्ने संकेत देखाएको बताउँदै संविधानप्रति विश्वास नगरेर व्यवस्थाको विरोध गर्दै संविधानको उलंघन गर्नेहरु नै सरकारमा जानुले संकटको संकेत दिएको जिकिर समेत गरे। संसदको रोष्ट्रममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानून र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उनको आरोप छ। अहिलको राजनीतिक अवस्था देखेर नेपाली जनतामा निराशा छाएको बताउँदै नेता नेपालले संघ र प्रदेशको निर्वाचनमा पार्टीले १० सिट ल्याएपनि थ्रेसहोल्ड कटाउन नसकेको र सोचेजस्तो परिणाम पनि नआएकाले गम्भीर भएर समिक्षा गर्नुपर्ने बताए। बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवदेन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा अध्यक्ष नेपालले सरकारमा सामेल हुन समर्थन नभई सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएको उल्लेख गरेका छन्। मुलुकलाई सहमतिको मार्गमा डो¥याउने कि नडो¥याउने भन्ने जिम्मा अब नेकपा (माओवादी केन्द्र) र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा रहेको प्रतिवेदनमा उल्लेख छ। निर्वाचनबाट ठूलो दल बनेपछि कांग्रेसमा शक्तिको घमण्ड बढ्नु, कांग्रेससँग सही सूचना नहुनु र गलत सूचनामा विश्वास गरेकै कारण पुरानो गठबन्धन टुटेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रतिवेदनमा माओवादी केन्द्रको सत्ताकेन्द्रीत सोंच र आफुलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री त्यागेर हिड्ने प्रवृत्ति रहेको उल्लेख गरिएको छ। समाजवादीको केन्द्रीय कमिटी बैठक आइतबारसम्म चल्ने छ।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update