काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२को त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ।
त्रिभुवन विश्वविद्यालयस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग–२ को विजेता बनिसकेकी स्कटल्याण्डलाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो।
सुरुमा व्याटिङ गरेको स्कटल्याण्डले ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो। स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पार गर्यो।
नेपालका लागि ओपनर व्याट्सम्यान कुशल भुर्तेलले १६ रन बनाए। अर्का ओपनर आसिफ शेखले ९ रन बनाएर पेभेलियनको बाटो लिएका थिए। ज्ञानेन्द्र मल्ल ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेलले ६ रन मात्र बनाउन सफल भए।
त्यसपछि मैदानमा उत्रिएका कुशल मल्लले ८१ रन बनाएको गतिलो पारी खेले भने उनलाई दिपेन्द्र सिंह ऐरी साथ दिए। नेपालको जितका लागि मल्ल र ऐरीको व्याटिङ नै जितका लागि आधार बन्यो। ऐरीले अविजित ८५ रन बनाए। त्यस्तै गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामीले २४ रन बनाए।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो। स्कटल्याण्डका लागि माईकल लिस्कले १ सय ७ रनको शतकीय ईनिङ खेले। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १–१ विकेट लिएका थिए।
स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ। नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ।
केही दिनअघि पनि नेपालले यही मैदानमा नामिवियाले दिएको २८६ रनको चुनौती पार गर्दै नामिवियालाई २ विकेट पराजित गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय