लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रिय सहमतिका आधारमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार स्वीकार गर्न नेपाली कांग्रेससमक्ष प्रस्ताव राखेको छ।
बुधबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवा लगाएतका नेताहरुसंग छलफल गर्दै लोसपाका नेताहरुले राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति खोज्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएको अवस्थामा अध्यक्ष ठाकुरलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन प्रस्ताव कांग्रेस नेताहरुसँग राखेको लोसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए।
मुलुकको परिस्थीतिलाई बिचार गरेर राष्ट्रपति सहमतिय आधारमा बनाउनुपर्ने र यसका लागि उचित पात्र ठाकुर नै भएको उनको दाबी थियो।
छलफलका क्रममा कांग्रेस सभापति देउवाले सहमतिका लागि ठाकुर उपयुक्त पात्र भएपनि राष्ट्रपतिका बिषयमा पार्टी भित्र निर्णायक छलफल नभएको जवाफ दिएको नेता भण्डारीले बताए।
कांग्रेसले विगत दुई महिनादेखि नै पार्टी नेता रामचन्द्र पौडेललाई नै भावी राष्ट्रपति बनाउने तयारीकासाथ आन्तरिक गृहकार्य गर्दै आएको छ। यसमा सत्ता गठबन्धनकै नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालसमेत सकारात्मक भएको संकेत पाएपछि सत्तासाझेदार दल नेकपा एमालेले यसअघि पार्टीभित्रैबाट अध्यक्ष ओलीले चाहेबमोजिमको उम्मेदवार मैदानमा उतार्ने तयारीबाट एक कदम पछि हट्दै कुनै बेला मुख्य दुश्मनकै कोटिमा राखिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम अघि सारेर कांग्रेस र माओवादीलाई सकसमा पार्ने रणनीति अख्तियार गर्दैछ।
यसअघि लोसपाले प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी ओली लगाएतका नेताहरुसंग भेटेर राष्ट्रपतिमा ठाकुरलाई सर्वसम्मत उम्मेदवारको रुपमा अघि बढाउन आग्रह गरेको थियो। राष्ट्रपति निर्वाचनको उम्मेद्वारी दर्ता फाल्गुन १३ गते हुँदैछ। त्यसअघि बिभिन्न दलहरु राष्ट्रपति निर्वाचनका बिषयमा आन्तरिक छलफलमा जुटेका छन्।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय