माघ २९ गतेको मन्त्रिपरिषदले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’को घोषणा गर्दै सार्वजनिक विदा दिने निर्णय गर्दै कार्यान्वयन गरेदेखि बुधबारसम्म मौन समर्थन जनाउँदै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनभित्र उत्पन्न संकटले उत्कर्ष लिनै लाग्दा सरकारी निर्णयको विरोध गरेका छन्।
सरकारको निर्णयप्रति करिब २ हप्तासम्म केही नबोली सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई काम गर्न मात्र होइन, आसन्न राष्ट्रपतिको निर्वाचनमा आफूले चाहेबमोजिमको पात्रलाई निर्वाचित गराउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग निरन्तर सम्वादको श्रृंखला चलाउँदै आएका ओलीले पछिल्लो समय गठबन्धन भत्किने सम्भावना बढेपछि भने आफैले बनाएको सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
ओलीको जन्मदिनकै अवसर पारेर बिहीबार भक्तपुरको बालकोटस्थीत आफ्नै निवासमा विश्वशान्ति प्रार्थना पुस्तक बिमोचन गर्दै ओलीले वर्तमान सरकारले जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिएको र यसलाई क्यालेण्डरमा नै समावेश गर्ने दुःखद निर्णय भएको बताए।
सरकारको निर्णयले हिंसाको मानसिकता र हिंसा प्रति गर्व गर्ने मानसिकता देखिएको उनले बताए।
उनले भने, ‘हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्यो। त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ। जुन कुरा सही होइन। सरकारले किन त्यो गर्यो? आकस्मिक रुपमा त्यो किन गर्नु पर्यो? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमा मण्डन गर्न पर्यो? त्यो मैले पनि बुझेको छैन।’
बुधबारसम्म सरकारको नेतृत्व र यसका निर्णयबारे कुनै नकारात्मक प्रतिक्रिया नदिएका ओलीले बुधबार साँझ मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालबीच पुरानै पाँच दलीय गठबन्धन व्यूँताएर राष्ट्रपतिको निर्वाचनमा एमालेलाई पाखा लगाउँदै सत्ताबाट समेत अलग्याउने गृहकार्यले तिब्रता पाएपछि भने सरकारी निर्णयको आलोचनामा ओलीले समय खर्चिन बाध्य भएका हुन्।
ओलीले आफैले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आइसकेपछि फेरी हिंसाको महिमामण्डन गर्नुको कारण आफुले पनि नबुझेको जिकिर गरे।
उनले नेपाल हिंसाको पक्षमा नरहेको र नेपालभित्र आन्तरिक द्वन्द र कलह अव नेपाली जनतालाई स्वीकार्य नहुने स्पष्ट पारे। ओलीको पछिल्लो अभिव्यक्तिले वर्तमान गठबन्धनको भविश्य अब धेरै समय नलम्बिने सम्भावनाको संकेत प्रष्टैसँग दिएको छ।
उनले नेपालमा पहिचानको राजनीतिका नाममा भूगोल र जातीहरुकाबीच परस्परमा घृणा फैलाउने काम भएको र अहिले त्यसलाई पराजित गरेको बताए।
एमाले अध्यक्ष ओलीको ७२ औं जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा बौद्ध धर्म गुरुहरुले शान्तिको प्रार्थना गरेका थिए।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय