हिमाल दैनिक
शान्ति सम्झौताविपरितका गतिविधिविरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्ने पूर्व माओवादी नेताहरुको अठोट
PRO_KTM-6F8A5683
माओवादी धारका विभिन्न पार्टी तथा समूहको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेका छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको तत्कालिन माओवादी द्वन्द्धकालीन पार्टीमा आबद्ध माओवादीका शीर्ष नेताहरुको बैठकले पछिल्ला दिनमा शान्ति सम्झौता विपरीतका गतिविधि सतहमा देखिन थालेको ठहर गर्दै त्यस्ता गतिविधिहरुको विरुद्धमा एकमतका साथ अगाडि बढ्ने निर्णय गरेका हुन्। बैठकले शान्ति प्रक्रियाका बाँकी काम शीघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। यस्तै बैठकले विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको गुरुङले बताए। शान्ति सम्झौता अनुसार गठन भएको सत्य निरुपण तथा बेपत्ता नागरिक छानबिन आयोगको कामलाई प्रभावकारी बनाएर लैजाने विषयमा समेत बैठकमा महत्वपूर्ण छलफल भएको गुरुङले जानकारी दिए। शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आवश्यक कानुनी एवम् संस्थागत व्यवस्थाका लागि तत्काल पहल गर्न पनि निर्णय भएको पनि उनले बताए। बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाल समाजवादी पार्टीका डा बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला लगाएत सहभागी थिए। करिब तीन वर्षअघि माओवादी केन्द्रका अध्यक्ष दाहालले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका आधारमा हालै सर्वोच्च अदालतले युद्धका समयमा भएको हत्या, हिंसामा परी मारिएका करिब पाँच हजारको जिम्मा आफूले लिने भनि गरेको भनाईलाई आधार बनाएर अदालतमा परेको रिट निवेदनबारे सर्वोच्च अदालतले निवदेन दाहाल विरुद्ध रिट दर्ताको अनुमति दिएपछि पूर्व माओवादी नेताहरुले यसलाई गम्भीरताका साथ लिँदै छलफल र एकताबद्ध हुन पुगेका हुन्।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update