हिमाल दैनिक
उपराष्ट्रपतिमा रामसहायलाई मत दिन कांग्रेस सांसदलाई पार्टीको निर्देशन

नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा गठबन्धन दलका तर्फबाट साझा उम्मेदवार यादवलाई समर्थन गर्ने र संघीय संसदका सदस्य एवं प्रदेश सभामा सदस्यहरुलाई यादवको पक्षमा मतदान गर्न निर्देशन दिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

मंसिरमा सम्पन्न निर्वाचन लगत्तै पुस १० मा भत्किएको गठबन्धनलाई फागुन १३ गते पुनः व्यूँताउँदै बनेको ८ दलीय गठबन्धनबाट प्रस्तावित राष्ट्रपतिका उम्मेदवार एवं तत्कालिन कांग्रेस नेता रामचन्द्र पौडेललाई फागुन २५ गते अत्याधिक मतले विजयी गराउन सफल भएको गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता यादवलाई उपराष्ट्रपतिमा निर्वाचित गराउने सहमति बमोजिम कांग्रेसले आफ्ना सदस्यहरुलाई निर्देशन दिएको हो।

निर्वाचन आयोगले चैत ३ गतेको निर्वाचनपूर्व ऐन बमोजिम मंगलबार मध्यरातदेखि मौन अवधिको घोषणा गरेपनि कांग्रेसले पार्टी सदस्यहरुलाई मत दिने निर्णयसहितको निर्देशन जारी गरेको हो।

त्यस्तै बैठकले राष्ट्रपतिमा निर्वाचित भएकोमा रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिँदै राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न सफलता प्राप्त हुने विश्वासका साथ शुभकामना व्यक्त गरेको छ।

पौडेललाई आफ्नो मत दिएर निर्वाचित गराएकोमा गठबन्धन दल आवद्ध सांसदहरुप्रति धन्यवाद प्रकट गरेको प्रवक्ता महतले बताए।

त्यस्तै कांग्रेस बैठकले बैंशाख १० गते हुने चितवन क्षेत्र नंवर २ लगाएत उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभा सदस्यपदको प्रत्यक्ष तर्फको उम्मेदवारीका लागि उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धीत निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत निर्देश गर्ने निर्णय गरेको प्रवक्ता महतले बताए।

बैठकले कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व जिल्ला सभापति एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा रामबहादुर ठकुरी, चितवन क्षेत्र नंवर १ का महाधिवेशन प्रतिनिधि कमलादेवी श्रेष्ठको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update