हिमाल दैनिक
सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसले छाडिदियो एमालेलाई विपक्षी बेञ्च

नेपाली कांग्रेसले वर्तमान सरकारमा सहभागी हुने निर्णय गर्दै आजको मितिदेखि संसद बैठकमा प्रमुख प्रतिपक्षीको स्थान छाडेर सत्तापक्षको बेञ्चमा बस्ने भएको छ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुुष्पकमल दाहालले चैत ६ गते संसदबाट विश्वासको मत मागेको अवस्थामा उनलाई विश्वासको मत दिएर वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

गत मंसिर ४ गते सम्पन्न निर्वाचन लगत्तै पुस १० गते सत्ताबाट बाहिरिएको कांग्रेसले पुस २६ गते एकाएक नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएपनि सदनभित्र प्रमुख प्रतिपक्षी दलकै हैसियतमा स्थान लिँदै आएको थियो।

तर, रणनीतिक रुपमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर आफ्नो हातबाट गुमेको राज्यसत्ता फिर्ता ल्याउने प्रारम्भिक कदम स्वरुप राष्ट्रपति पदमा पार्टीका तर्फबाट प्रस्तावित उम्मेदवार रामचन्द्र पौडेललाई फागुन २५ गते निर्वाचित गराउन सफल कांग्रेसले पुनः सत्तामा सहभागिताको बाटो खोलेको थियो।

संसदमा दोस्रो ठूलो दल नेकपा एमालेले राष्ट्रपतिको चुनावमा सत्तारुढ दलभित्र सहमति नभएपछि पनि सत्ता केही समय टिक्ने रणनीति अपनाएपनि फागुन १५ गते बाध्य भएर सरकारबाट बाहिरिँदै दाहाललाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिँदै विपक्षमा गएको थियो।

त्यसपछिका दिनमा संसदमा कांग्रेसले पनि तत्काल प्रमुख प्रतिपक्षी दलको हैसियत नछाडेर विपक्षमै बस्ने स्थिति बनेपछि संसदभित्र प्रमुख विपक्षी दल कांग्रेस कि एमाले भन्ने विवादले संसद सचिवालय र सभामुखलाई बैठक संचालनमा समस्या उत्पन्न भएको थियो। उक्त विवादको निरुपण नभएसम्मका लागि बैठक स्थगित गरेका सभामुख देवराज घिमिरेले सूचनामार्फत आजका लागि बैठक डाकेका थिए।

कांग्रेस कार्यसम्पादन समितिको आजको निर्णयले संसद सचिवालय  सभामुखलाई सदनभित्र सिट व्यवस्थापन गर्न सहज बनाइदिएको छ। यसले आजदेखि संसदको पहिलो ठूलो दल सत्तापक्षमा र दोस्रो ठूलो दल एमाले प्रमुख विपक्षी दलका रुपमा रहने वातावरण बनेको छ।

बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनका लागि चारवटा मापदण्ड निर्धारण गरेको छ। जसमा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलन रहेको प्रवक्ता महतले जानकारी दिए।

महतले संविधानको रक्षा, बृहतर देशको बिकास र समृद्धि तर्फ सरकारले काम गर्ने अपेक्षासहित कांग्रेस पार्टी वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको जानकारी पनि दिए।

कांग्रेसले भोलि हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि मात्रै सरकारमा सहभागी हुने तयारी गरिरहेको छ। सरकारमा सहभागी हुनका लागि कांग्रेसका अधिकांश नेता तथा सांसद लालयित भएपनि कांग्रेसका लागि सिमित संख्यामा मन्त्रालय भागवण्डा पर्ने हुँदा सभापति शेरबहादुर देउवाले पार्टीभित्र सल्लाहगरी मन्त्री हुने सदस्यहरुको नाम तय गरी प्रधानमन्त्रीलाई दिने बताइएको छ।

बैठकले उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवलाई बधाई र शुभकामना व्यक्त गरेको छ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update