हिमाल दैनिक
मन्त्री खड्काले भनेः मन्त्री पो बन्दिन भनेको, उपप्रधानमन्त्री बन्दिन भनेर कहाँ र कहिले भने?
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका उपसभापति एवं नवनियुक्त उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आफू मन्त्री नबन्ने भनि विगतमा दिएको अभिव्यक्तिको बचाउ गरेका छन्।

शनिबार ललितपुरको बाँडेगाँउस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेका रक्षामन्त्री खड्काले सञ्चारकर्मीसंग कुरा गर्दै यसअघि आफुले मन्त्री मात्रै नबन्ने अभिव्यक्ति दिएको र उपप्रधानमन्त्री बन्दिन भनेर नभनेको बताए।

तत्कालिन संविधान सभाबाट नयाँ संविधान जारी भएलगत्तै सरकार गठनको प्रक्रियामा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालाले पूर्वसहमति विपरित आफूलाई पुनः प्रधानमन्त्री पदको प्रत्यासी बनाएपछि असन्तुष्टि जनाएर पार्टी सहमहामन्त्री पदबाट राजीनामा समेत गरेको प्रसंग स्मरण गर्दै त्यसपछि आफूले अर्घाखाँचीको एक कार्यक्रममार्फत अबदेखि मन्त्री बन्दिन भनि घोषणा गरेको बताए।

आफुले विगतमा ०५५ सालदेखि धेरैचोटि मुलुकको मन्त्री बनेकाले फेरि त्यसमा लालच देखाउनु उपयुक्त नहुने देखेर आफुले मन्त्री बन्ने अभियान बन्द गरेपनि अहिले आफु उपप्रधानमन्त्री बनेको उनले बताए।

उनले अहिले उपप्रधान र रक्षामन्त्रीको जिम्मेवारी पार्टीको सभापतिले विश्वास गरेर दिएको भन्दै खड्काले आफ्नो अभिव्यक्तिबाट कहीँ दायाँबायाँ नगरेको दाबी गरे।

संविधानको धारा ७६ को उपधारा ९ मा उल्लेखित स्पष्टीकरण अनुसार, मन्त्री भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री, सहायक मन्त्री सम्भिनु पर्ने भनिएको छ।

त्यस्तै उपप्रधानमन्त्री खड्काले वर्तमान सरकारमा सहभागीताको लागी कुनै बिशेष मन्त्रालयमा दावी नगरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीमा आफ्नो समेत सहमतिमा पार्टी प्रवक्ता प्रकाशशरण महतलाई पठाउने निर्णय भएपछि बाँकी रहेका १९ मन्त्रालयमध्ये छानेर रक्षा मन्त्रालय लिएको बताए।

उनले आफ्नो समेत सहमतिमा पार्टी सभापतिले प्रवक्ता डा प्रकाशशरण महतलाई अर्थमन्त्री बनाएको र यसबाहेक आफूले परराष्ट्र वा अरु कुनै मन्त्रालयमा दाबी गरेर त्यो नपाएपछि रक्षाको जिम्मेवारी लिएको भनि विभिन्न पत्रपत्रिकामा आएको समाचार सत्य नभएको दाबी गरे।

मन्त्री खड्काले शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्न ध्यान केन्द्रीत गर्ने बताए।

उनले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अगाडि दीप प्रज्वलन गर्दै सालिकमा माल्यार्पण गरेका थिए।

 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update