हिमाल दैनिक
कांग्रेस नेता जोशी र विकास कोइरालाविरुद्धको कारबाही फुकुवा, दिनेश कोइरालालाई सुध्रिने अवसर प्रदान

नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनलाई ध्यानमा राख्दै तनहुँ, चितवन र वारा जिल्लाका पुराना नेता, कार्यकर्तामाथि गरेको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०७९ को निर्वाचन भन्दा पहिलेको निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध उम्मेदवारी दिएर पार्टी अनुशासनको उलंघन गरेका नेताहरुमाथि गरेको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो।

उक्त निर्णयका आधारमा कांग्रेसका पूर्व सहमहामन्त्री तथा तनहुँ कांग्रेसका नेता गोविन्दराज जोशीसँगै उनको प्रस्तावक, समर्थक तथा चितवन कांग्रेसका पूर्व जिल्ला सभापति विकास कोइरालाको कारबाही फुकुवा भएको छ।

आजको बैठक पश्चात पत्रकारहरुसँग कुरा गर्दै पार्टी सहमहामन्त्री बद्री पाण्डेले माथि उल्लेखित तीन जिल्लामा ०७९ को निर्वाचन भन्दा पहिले उम्मेदवार भई पार्टी अनुशासनको उलंघन गरेका नेताहरुको हकमा पुरानै क्रियाशील सदस्यता कायम रहनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको जानकारी दिए।

कांग्रेसको यस निर्णयले ०७४ को प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेपछि निर्वाचन आयोगले खारेजीमा परेका पार्टी जोशीमाथि तत्कालिन नेता रामचन्द्र पौडेलविरुद्ध अन्तरघात गरेको आरोपमा भएको अनुशासनको कारबाही फुकुवा भएको छ। यसका अतिरिक्त ०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा तत्कालिन सभापति सुशील कोइरालाविरुद्ध उम्मेदवारी दिएका चितवन कांग्रेसका नेता विकास कोइरालाविरुद्ध भएको अनुशासनको कारबाही पनि स्वतः फुकुवा भएको छ।

तर, मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टी निर्णय विपरित स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता दिनेश कोइरालामाथि भएको अनुशासनको कारबाहीमा भने उनले आसन्न चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई विजयी बनाउने खेल्ने भूमिकाको आधारमा कारबाही फुकुवा गरिने बताइएको छ।

कांग्रेसको उक्त निर्णयले पार्टीको कारबाहीमा परेका तनहुँ र चितवनका नेताहरु गोविन्दराज जोशी, विकास कोइराला र दिनेश कोइरालालाई पुनः पार्टीमा फर्किएर पार्टीले अघि सारेका उम्मेदवारहरुलाई सघाउँदै पुनः पार्टी राजनीतिमा क्रियाशील हुने बाटो खोलिदिएको छ।

यसअघि चैत १६ गते बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले पूर्व नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त रहेको तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र नागरिकता विवादका कारण रिक्त रहन पुगेको चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

आजको बैठकले उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि रिक्त रहन पुगेको बारा २ मा भने सरकारमा सहभागी रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गठबन्धनको उम्मेदवारका रुपमा सघाउने निर्णय भएको छ।

साथै बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रस्ताव पारित गरेको छ। त्यस्तै बैठकले राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ। अघिल्लो कार्यसम्पादन समिति बैठकमा पेश भएका कार्यालय सञ्चालन सम्बन्धी निर्देशीका र नियमावलीलाई सुझाव सहित पारित गर्ने निर्णय भएको पाण्डेले बताए।

 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update