आसन्न उपनिर्वाचनको पूर्वतयारीमा रहेको नेपाली कांग्रेसले चैत १६ गते जब तनहुँ–१ मा पार्टी नेता गोविन्द भट्टराई र चितवन–२ मा पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गर्यो तब, देशका प्रमुख संचारमाध्यमदेखि सामाजिक सञ्जालमा नयाँ चर्चाको विषयले प्रवेश पायो।
त्यो विषय थियो, विगत १० वर्षदेखि कांग्रेस नेतृत्वसँगै सत्ता र शक्तिको आडमा पालित, पोषित र पुलंकित हुँदै आएका भाग्यमानी पात्र स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्यागको घोषणासँगै रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट तनहुँ–१ मा चुनाव लड्ने उनको तयारी।
समाजिक संजालमार्फत सार्वजनिक भएको वाग्लेको पार्टी परित्यागको घोषणाले देशभित्र र बाहिर रहेका नेपालीहरुमाझ एउटा नयाँ तरंग नै ल्यायो।
पार्टी परित्यागको घोषणाका क्रममा उनले पार्टी सभापति शेरबहादुर देउवा र उनको परिवारमाथि लगाएको संगिन आरोपसँगै आफू निकट भनिएका नेता शेखर कोइराला र महामन्त्रीद्व गगनकुमार थापा र विश्वप्रकाश भण्डारीप्रति देखाएको विनयशीलताको अभिव्यक्तिले पैदा गरेको क्रिया, प्रतिक्रियाले समाजिक सञ्जाल र आमसंचार माध्यम अझै पनि पनि रंगिएकै छ।
कतिपयले उनको निर्णयलाई सही भन्दै समर्थन जनाएका छन् त कतिपयले उनीजस्तो तेजस्वी त्रिकालदर्शी विद्वानले कांग्रेस छाडेपछि अब कांग्रेसमा विद्वताको खडेरी नै पर्ने पो भयो कि भन्ने भान हुनेगरी चासो र चिन्ता पनि व्यक्त गर्दैछन्।
तर, वास्तवमा कांग्रेस जस्तो झण्डै ८ दशकको लामो इतिहास बोकेको पार्टीका निम्ति न त कुनै एउटा घटनाले न त कुनै एउटा व्यक्तिको उदय वा अवसानले नै यसको यात्रा र गतिमा प्रभाव पार्दछ।
यदी कसैलाई वाग्लेको बहिर्गमनले असर पार्ला कि भन्ने लाग्छ भने उनीहरुले अझै पनि वास्तविकतालाई या त बुझ्न सकेका छैनन् या त बुझ्न चाहिरहेका छैनन्।
कांग्रेसमा वाग्लेको उदय जति अप्रत्यासित र आश्चर्यजनक ढंगले भएको थियो, अवसान पनि सोही गतिमा अर्थात न्युटनको चालसम्बन्धी तेस्रो नियमकै आधारमा हुन पुग्यो। त्यो पनि उनैको चरम व्यक्तिवादी महत्वाकांक्षा र अभिमानकै कारण।
अझै कांग्रेस जस्तो पुरानो र देशकै प्रमुख शक्तिबाट बहिर्गमनको बाटो समाएर प्रविणता प्रमाणपत्र समेतको सर्टिफिकेट प्राप्त गर्न समेत नसकेको फैजदारी अभियोगसँगै देशभित्र र बाहिर अनगिन्ती विवादस्पद घटनामा मुछिएका रबि लामिछानेको मुहारमा बीपी कोइरालाको विम्ब देख्न भ्याउने प्रकाण्ड विद्वान वाग्लेको विगत र वर्तमान नबुझ्दासम्म नेपाली समाजले उनीहरुका विषयमा चासो र चिन्ता लिने क्रम जारी नै राख्ने छ भन्ने कुरामा शंकै छैन।
यसका लागि वाग्लेका बारेमा जानकारी लिन र दिन जरुरी छ। यही मान्यता लिएर यो पंक्तिकारले यो आलेख पस्किँदै छ। भलै यो आलेखको प्रतिक्रियामा कति भौमान भक्तहरुले सामाजिक सञ्जालमार्फत धारे हात लगाउलान् त्यसको प्रवाह छैन। वास्तविकताकामा पर्दा हाल्न हुँदैन।
नेपाली समाजमा एउटा अनौठो भूत सवार हुँदैआएको छ। कुनै पनि व्यक्ति विदेशमा पढेर आएको भनेपछि त्यसै महान ठानिदिने।
यो सामाजिक मनोदशाबाट कोही पनि मुक्त हुन सकिरहेका छैनन्। अझै देशका पुराना पार्टीका नयाँ÷पुराना नेता कार्यकर्ता यो सामाजिक मनोदशाबाट ग्रस्त छन्।
तर, विदेशमा पढेर आउनेले अलिअलि अंग्रेजी पनि बोल्न सिक्छन्। अलिअलि विदेशी लेखकका किताब पनि पढ्न पाउँछन् र त्यहाँका कुरा पनि सिक्छन्। त्यतिमात्र होइन, उनीहरुले आफूलाई कसरी बेच्ने र समाजलाई कसरी ठग्ने भन्ने कला र शीप पनि राम्रैसँग सिक्छन्।
यसमा वाग्ले पनि पोख्त भएर आएका छन्। आफ्नो पढाइमा अति घमण्ड गर्ने, विदेशीले अंग्रेजीमा लेखेका पुस्तक र विचार नै सास्वत हुन क्यारे भन्ने मान्यताबाट उनी पनि मुक्त छैनन्।
भलै विदेशबाट आफूलाई कसरी समाजमा बेच्नसकिन्छ भन्ने आइडिया वाग्लेले मज्जाले सिकेर आएका थिए। आफूलाई विक्रीवितरणमा राख्नेक्रममा कहिले सुशिल कोइराला, कहिले रामचन्द्र पौडेल त कहिले शेरबहादुर देउवा त कहिले शेखर, गगन समूहमा आचरण÷विचरण गरिरहे।
जब नेताहरुले उनको भित्रि गुदि र गिदि कोट्याए त्यसपछि उनी खोटामाल सरह हुन भन्ने लागेपछि नेताहरुले उनलाई पुछ्न छाडिदिए। परिणामस्वरुप कांग्रेसरुपी डिपार्टमेण्टल स्टोरको कोइराला, देउवा, गगन÷विश्व पसलहुँदै उनी अर्को मार्टमा छिरेका छन्।
कांग्रेस परित्याग गर्दैगर्दा वाग्लेले देउवा र उनको परिवारको अन्याय र अत्याचार सहन नसकेको भनि दिएको सार्वजनिक अभिव्यक्तिप्रति धेरैको सहानुभूति पलाएको छ। तर, वास्तवमा विदेशबाट फर्किएर आफूलाई लिलामीमा राखेका वाग्लेलाई पहिले सुशील कोइरालासमक्ष र पछि बुढानिलकण्डस्थित देउवा निवासमा प्रवेश गराउन तत्कालिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल र संविधान सभा सदस्य उमेश श्रेष्ठको भूमिका अतुलनीय छ।
पोखरेल र श्रेष्ठकै पहलमा कोइरालाले सुरुमा राष्ट्रिय योजना आयोगको सदस्य र पछि देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै उपाध्यक्षको घुम्ने कुर्सी सिंहदरबारभित्र वाग्लेलाई निगाहमा मिलेको थियो।
योजना आयोगको उपाध्यक्ष बनेपछिका केही वर्ष वाग्लेका लागि देउवा जति प्रिय नेता बने त्यो भन्दा ज्यादा भरोसायोग्य पात्र देउवापत्नी आरजु राणा देउवा लागेको थियो।
तर, वाग्ले आदतसे मजबुर थिए। त्यसैले जब ०७४ को निर्वाचनमा कांग्रेस पराजित भयो र सत्ताबाट हट्ने स्थितिमा पुग्यो त्यसपछि तत्कालिन सरकारका प्रधानमन्त्री देउवा र राणाप्रति वाग्लेको धारणामा पनि विस्तारै बदलाव आयो।
यसरी एकाएक बदलाव आउनुको मुख्य कारण थियो, देउवाले उनको पद र प्रतिष्ठाप्रतिको आशक्तिपूर्ण चाहनालाई साकार पार्न राष्ट्रिय सभामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने तीन सांसदको कोटामा उनको नाम नअटाइदिनु।
फलस्वरुप सरकारबाट हट्नुअघि सामाजिक सुरक्षा भत्तासँगै केही विशेष प्रकारका विरामीलाई देउवा नेतृत्वको सरकारले उपलब्ध गराउने भनि गरेको मन्त्रिपरिषदको निर्णयका विरुद्ध वाग्लेले सार्वजनिक विमति जनाए।
प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारको रुपमा रहेका वाग्लेले आफ्नो पदीय मर्यादा र दायित्व बिर्सिए र विदेशबाट ट्वीटरमार्फत सरकारको उक्त निर्णयको खिलाफमा उत्रिए। जसका बारेमा आलोचना हुनथालेपछि तत्काल उनले उक्त स्टाटस हटाएका थिए।
सत्ता र शक्तिबाट विमुख बन्दै गएका देउवा र उनको परिवारबाट वाग्ले विस्तारै टाढिन सुरु गरे।
त्यसपछिका दिनमा आफूले चाहेजस्तो लाभको पद नपाएपछि क्रमशः वाग्लेले उल्टै देउवा र उनको परिवारप्रति विषवमन गर्न सुरु गरे।
सरकारी नियुक्तिको सम्भावना नदेखेका वाग्ले योजना आयोगको उपाध्यक्षबाट बाहिरिएपछि उनै सहयोगी पोखरेल, श्रेष्ठको सहयोगमा प्रतिष्ठित उद्योगपति विनोद चौधरीसँगको उठबस र सामिप्यता मात्रै बढाएनन्। चौधरी ग्रुपले संचालन गरेको ‘बलियो नेपाल अभियान’को अध्यक्ष बन्दै वाइवाई चाउचाउले देश बनाउँछ भन्दै हिड्न थाले।
जब उक्त अभियानको विषयमा पत्रपत्रिकामा प्रश्न उब्जियो त्यसपछि उनले उक्त अभियानबाट अलग हुँदै अर्का प्रतिष्ठित व्यापारी सिद्धार्थ राणाको निकटमा पुग्न भ्याए।
विदेशमा आर्जन गरेको उनको कला र गलासँगै जेल कोटेड कपाल, क्रिम कोटेड गाला र सुगरकोटेड जिब्रोको सहायताले राणालाई पनि मूर्ख बनाउँदै इन्टीच्यूट अफ इन्टिग्रेटेड डिभलप्मेन्ट स्टडिज (आइआइडिएस)मा पाँच करोड रुपैयाँ लगानी गर्न लगाए र उक्त संस्थाको अध्यक्ष पनि आफैँ बने।
यसले पनि अतृप्तै रहेका वाग्लेले देशमा तत्कालिन नेकपा डब्बलका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष पूरै टिक्ने र त्यसपछिको चुनावमा पनि कांग्रेसको भविश्य अनिश्चित हुँदै गर्दा आफूलाई लाभको पद आउनसक्ने सम्भावना क्षिण देखे।
त्यसपछि उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को एशिया–प्रशान्त क्षेत्रीय प्रमुखको सल्लाहकारका रुपमा न्यूयोर्कमा कार्यरत रहनेगरी ०७७ असोज पहिलो साता अमेरिका हानिए।
अमेरिका जानुअघि उनले कांग्रेसका नेताहरुलाई विदाई भेट गरेका थिए। सोर्ही क्रममा सभापति देउवासँग भेटको लागि उनले समय मागे, तर, पाएनन्। ०७७ असोजको पहिलो साता अमेरिका उड्नुअघि दाङका प्रदेश सभा सदस्य डिल्ली चौधरीको साथ लागेर वाग्ले देउवा निवास पुगेका थिए। जहाँ उनले आफू अमेरिका जान लागेको भनि जानकारी गराउँदा देउवाले खासै चासो नदिई ‘ए हो! त्यो त राम्रो भएछ।’ भनि प्रतिक्रिया दिँदै कालोचिया मात्रै खुवाएर विदा गरिदिएका थिए। उता आफूले भेट्नै नचाहेको पात्रलाई झुक्याएर भेट्न ल्याएको भनि देउवाले पछि चौधरीलाई झपारेका थिए।
कुनै पनि विदेशी निकाय त्यसपमाथि युएनडिपी जस्तो साझा संस्थामा नियुक्ति पाउनु नेपालीका लागि गर्वकै विषय हो। तर, त्यसरी नियुक्ति लिँदा कुनै पनि व्यक्तिले कुनै पनि दलको सदस्यता लिएको हुनु हुँदैन र यदी पहिले नै लिइसकेको अवस्थामा त्यो परित्याग गर्नु उसको नैतिक र व्यवसायिक धर्म नै हो। तर, वाग्लेले युएनडिपीको कर्मचारीका रुपमा जाँदा पनि उनले कांग्रेसको महासमिति सदस्यसँगै क्रियाशील सदस्यता पनि यथावतै राखे। अन्तराष्ट्रिय संघ, संस्थामा कार्यरत हुँदा अपनाउनु पर्ने सामान्य नैतिकताको समेत प्रदर्शन गरेनन्। पछि कांग्रेसको महाधिवेशनमा भाग लिन नेपाल फर्किँदा त्यही पुरानो क्रियाशील सदस्यता चितवनको रत्ननगर नगरपालिका वडानम्बर ४ बाट पुनः नविकरण गराएर आए। राष्ट्रसंघको जागिर भने गत वैशाखमा मात्रै छाडे।
उनले पद र पैसाका लागि जे पनि गर्छन् भन्ने कुरा विरलैले पत्याउलान्। अरु कुरा नपत्याएपनि बहुचर्चित अमेरिकी विकास सहायता सम्बन्धी सम्झौता (एमसीसी)को सुरुवातदेखि नै आफू सक्रिय रहेको बताउने वाग्ले केही वर्षअघि एमसीसीको ठिक विपरित ध्र्रुवमा पर्ने चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड (बिआरआई)को वकालत गर्न चीन पुगेका थिए।
उनले राष्ट्रसंघलाई मात्र ढाँटेका छैनन्। स्वयं कांग्रेस पार्टी र आम नेपाली जनतालाई पनि ढाट्न सफल भएका छन्। उनले आफ्नो बायोडाटादेखि हालै कांग्रेस परित्यागको घोषणा गर्दैगर्दा पनि भनेका छन्, म र मेरो परिवारले विगत ५० वर्षदेखि कांग्रेसमा क्रियाशील छ। म पनि ४२ सालको सत्याग्रदेखि ४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको थिए।
अब यहाँ प्रश्न उठ्छ, ०३१ सालमा जन्मिएर गोरखाबाट राजधानीको प्रतिष्ठित शैक्षिक संस्था बुढानिलकण्ठ स्कूलमा अध्ययन गरी ०४६ सालमा एसएलसी पास गरेको व्यक्ति ४२ सालमा सम्भवत ७ वा ८ मा पढ्दै थिए होला। अब ११ वर्षे बचरोले ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनमा भाग लिएका थिए रे! नेपालीले पत्याइदिनु पर्ने।
हुनत, यत्तिधेरै विद्वता भएका व्यक्तिले भनिसकेपछि कसरी नपत्याउनु? हुनसक्छ, पञ्चायतकालमा बुढानिलकण्ठ स्कूलमा व्यवस्थाविरुद्ध स्कूले विद्यार्थीले व्यवस्था विरुद्धको खुल्ला गतिविधि गर्ने परिस्थिति वा वातावरण नहुँदा नहुँदै पनि तत्कालिन युवराज दिपेन्द्र, पारस शाहहरु पनि त्यही स्कूलमा पढ्दैगर्दा साथीसाथी भएकै कारण स्कूलकै कुनै कुनामा रहेको पैँयूको रुखमुनी दिपेन्द्र र पारससँगै बसेर सत्याग्रहमा सँगै भाग लिएपनि होलान्।
तर, वास्तविकतामा यी सबै कुरा वाग्लेले विदेशबाट आर्जन गरेको खोटामाल बेच्ने तरिकाकै एउटा नमूना हो। जसमा न त इमान्दारिता छ, न त विश्वसनीयता नै। युएनडिपीको जाँदा पनि कांग्रेस पार्टीको सदस्यता कायमै राखेर उक्त संस्थाप्रति नैतिक दायित्व प्रदर्शन गर्नबाट च्यूत रहे। अमेरिकामा पुगेपछि पनि देउवा र देउवापत्नी आरजुसँगै विनोद चौधरीले आफूलाई लगाएको गुन प्रति कृतघ्न बन्दै अमेरिकाको एक कार्यक्रममा राणा र चौधरीसँगै नेपाल र नेपालको संवैधानिक व्यवस्थाको धज्जी उडाए।
उनले यहाँ बिर्सिए, कुनै पनि पेशा, व्यवसाय वा राजनीतिमा सफल हुने भनेको कुनै प्राविधिक विषयवस्तुको ज्ञानको आधारमा मात्रै सम्भव छैन र हुँदैन पनि। अझ राजनीतिमा त निरन्तरता, इमान्दारिता र अरुको सम्मान गर्न सक्ने खुबी प्रमुख आधारस्तम्भ नै हुन्।
हो कुनै पनि राज्य संचालनका लागि दलहरुले विषयविज्ञहरुको सहायता लिनु पर्छ र चाहिन्छ पनि। त्यस्ता प्राविधिक विज्ञ, सल्लाहकारहरुले पार्टी र राज्य संरचनाका आधारभूत मान्यतालाई कही न कही सम्मान त गर्न सक्नु पर्यो नि।
वाग्लेहरुमा भ्रम होला, म नै सबैकुरा जान्ने ‘मिष्टर नोअल हुँ’। तर, उनलाई यो थाहा छैन कि नेपालका पुराना पार्टीहरुमा राजनीतिसँगै विषयगत अध्ययनका सवालमा पनि अनगिन्ती ज्ञाताहरुको कमि छैन। नपत्याए, मोहनमान सैँजु, विश्वम्भर प्याकुरेल, जगदिश पोखरेललाई मात्रै सोधे हुन्छ।
तर, वाग्लेहरुमा यी तीनै कुराको अभाव छ। जो गोरखाबाट बालक कालमै काठमाडौंको स्कूलहुँदै युवा अवस्थामा विदेशका विश्वविद्यालयमा अध्ययन गर्नेदेखि बेलाबखतमा नेपाल आएको वखत बसाई सरेको चितवनको घरभन्दा पर रहेका तारे होटेलका सभा सम्मेलन भन्दा बाहिर पुग्न भ्याएनन् होला। यदी पुगिहालेको भए उनले भेट्ने मानिसको सूचिमा देशी÷विदेशी चिल्ला गाला र सुकिलामुकिला प्रतिनिधिका अतिरिक्त धनाढ्य व्यापारी र तस्करबाहेक अरु भूइमान्छेलाई विरलै भेटे होलान्।
तर, अहिले उनी वर्तमान परिस्थितिमा अर्थराजनीतिको सुधारबारे बखान गर्छन्। गाउँका दूरदराजका घरघडेरी धितो राखेर मलेसिया र अरवको खाडीमा पुगेका युवाका परिवारलाई चाउचाउ नखाउ, गाउँकै स्थानीय उत्पादन मकै, भट्टमास खाउ, यसले स्वास्थ्यसँगै अर्थतन्त्र पनि बलियो बनाउन मद्दत गर्छ भनि सम्झाउन वाग्लेहरुले सक्दैनन्। अबको अर्थव्यवस्था सुधार्न विदेशी दातृ निकायले यति ऋण, अनुदान देला, विश्व बैंक र एडिबिले यति ऋण देला र हामी देशको अर्थतन्त्रमा परिवर्तन गर्न सक्छौँ भन्ने मान्यताले सफलता पाउने वाला छैन। अर्थतन्त्रको जग बलियो बनाउने आफ्नै उत्पादनमा निर्भरताको जरुरी छ। विश्व बैंक र कुनै दातृ निकायले जति ऋण, अनुदान उपलब्ध गराउँछ, त्यसको अनुपातमा आधा रकम खाने उनीहरुकै कन्सल्टेण्ट हुन्छन्।
वर्तमान परिस्थितिमा मुलुकको अर्थव्यवस्था सुधारका बारेमा वाग्लेले केही दिनअघि भन्दै गरेको प्याराडाइम सिफ्ट र सेन्स अफ अर्जेन्सी भनेको उनमा देखिएको पद र प्रतिष्ठा प्राप्तिको हतारो मात्रै हो। उनलाई हतार भयो भन्दैमा कुनै पार्टी वा नेताले उनको आवश्यकता र मागलाई परिपूर्ति गर्न सक्दैनन्। त्यो कुरा उनले सभापति देउवासँगै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको जवाफबाट पनि थाहा पाउनु पर्ने हो।
पार्टी राजनीतिमा आफ्नै पद्दती हुन्छ, शक्ति सन्तुलनको अवस्था र व्यवस्था हुन्छ। यो कुरालाई नियालेर कांग्रेस पार्टीभित्रको पद्दती र बाटोबाट आफ्नो हतारोमा खोजिरहेको उपलब्धि प्राप्तिको लक्ष्य हाँसिल गर्न सहज छैन भन्ने निचोडमा वाग्ले पुगेपछि नै उनले छोटो बाटो खोजे। भौमानको शरणागत भए।
फौजदारी कसूरमा विवादमा परेको व्यक्ति रवि लामिछानेलाई अँगालो हाल्न पुगे। आशा गरौँ, उनी फेरि तनहुँबाट लज्जास्पद पराजय भोगे भने फेरि संयुक्तराष्ट्रसंघीय निकाय वा कम्बोडिया र ससुराली मुलुकतिर नहानिनियुन्।
अहिले जेजति सामाजिक संजालमा रोइलो देखिएको छ यसमा भन्न मन लाग्छ, उनी एउटा ठूलो पसलबाट सानो पसलमा गएका छन्। अब उनले बेच्ने पसल पनि सानै छ। तर, मलाई लाग्छ, उनी चुनाव हारेपछि पनि कम्तिमा एकवर्षसम्म रबिसँगै राजनीतिमा टिकिराखुन्। माथि उल्लेख गरेका तीन कुरा राजनीतिमा इमान्दारिता, निरन्तरता र सबैको सम्मान गर्ने कुरा उनका लागि सम्भव नभएपनि बीपी कोइरालाको विम्ब देखिने रबिप्रति नै भएपनि भक्तिभाव देखाएर प्रमाणित गरुन्। स्वर्णिमलाई शुभकामना!