हिमाल दैनिक
रास्वपा सांसद श्रेष्ठको अडियोबारे संसदीय छानविन समिति गठन गर्न नेता धनराज गुरुङको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेलाई भेटी चढाउन विवादस्पद मेडिकल व्यवसायीसँग मागेको २ करोड रुपैयाँको अडियो रिपोर्टबारे तत्काल संसदीय छानविन समिति गठन गर्न नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले माग गरेका छन्।

प्रतिनिधि सधाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता गुरुङले सांसद श्रेष्ठले मन्त्री बन्नकै लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग सभापति लामिछानेको कोर टिमलाई २ करोड बुझाउनु पर्ने भनि दिएको अघिव्यक्तिलाई गम्भीर रुपमा लिँदै त्यो कोर टिम को हो भनि छानविन गर्न संसदीय समिति गठन गर्नु पर्ने माग गरे।

आइतबार मात्रै सार्वजनिक भएको अडियो रिपोर्टप्रति लक्षित गर्दै सांसद गुरुङले प्रतिनिधि सभाको सदस्यले मन्त्री बन्नका लागि २ करोड बुझाउनु पर्छ भन्ने पारदर्शी अडियोलाई लज्जास्पद घटनासँगै दूधको साँक्षी विरालो बसेको जस्तो भएको बताए। उनले अडियोको भाषा उल्लेख गर्दै भने, ‘अडियोमा भनिएको छ, ‘कोर टिमलाई रकम बुझाउनु पर्छ।  त्यो कोर टिम भनेको को हो? यसको पनि छानविन गर्नु पर्दैन?’

उनले उक्त विषयमा छानविनका लागि आजैको संसद बैठकबाट संसदीय छानविन समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गर्दै चुप लागेर बस्न नहुने बताए।

साथै उनले भुटानी शरणार्थीको नाउँमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको र उक्त घटनामा ठूलै राजनीतिक दलका नेता र परिवारका सदस्यको संलग्नता रहेको भनि आएको समाचारप्रति पनि गृह मन्त्रालयको ध्यानाकर्षण गर्दै यसबारे छानविन गरी कडा कारबाहीको माग गरे।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update