हिमाल दैनिक
तनहुँका जनतालाई प्रम दाहाल र देउवाले भनेः गोविन्दलाई जिताएर पठाउनुहोस्, मन्त्री बनाउँछौँ

सत्ता गठबन्धनका शीर्ष नेताहरुले तनहुँ १ का जनतालाई वैशाख १० गतेको उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई अत्याधिक मतले विजयी गराउन अपिल गरेका छन्।

आसन्न निर्वाचनको प्रचार प्रसारको अन्तिम चरणमा पुग्नुअघि बुधबार तनहुँको डुम्रे पुगेका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपाल र समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले लोकतान्त्रिक आन्दोलनका इतिहासमा गौरवमय इतिहास बोकेको जिल्ला तनहुँबाट गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई विजयी गराउन अनुरोध गरेका हुन्।

गठबन्धनका दलहरुले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री प्रधानमन्त्री दाहालले यसअघिको आम निर्वाचनको चुनावी अभियानमा कांग्रेस नेता रामचन्द्र पौडेललाई विजयी गराएर देशको प्रधानमन्त्री बनाउने बाचा गरेको स्मरण गर्दै भने, ‘मैले त पटक पटक हुन खोज्दा पनि प्रधानमन्त्री बन्न नसक्नु भएको रामचन्द्र पौडेललाई अब चुनावमा जिताए प्रधानमन्त्री नै बनाउँछौँ भनेको थिए। तर, उहाँ अहिले प्रधानमन्त्री भन्दा माथि राष्ट्रकै अविभावक राष्ट्रपति नै बन्नु भएको छ।’

आफू भन्दा अगाडि बोल्ने क्रममा कांग्रेस सभापति देउवाले गोविन्द भट्टराईलाई चुनावमा विजयी गराएर पठाएको खण्डमा आफूहरुले उनलार्इृ मन्त्री बनाउने र तनहुँको समग्र विकासका लागि सक्दो सहयोग गर्ने बाचा गरेको तर्फ लक्षित गर्दै दाहालले भने, ‘सभापति देउवाजीले मन्त्री बनाउँछौ त भन्नु भयो तर, अहिले मन्त्री बनाउने प्रधानमन्त्री म हुँ। हामीहरुले उहाँलाई चुनाव जितेर आएपछि मन्त्री बनाउँछौँ र तनहुँको आर्थिक, सामाजिक र भौतिक पूर्वाधारको विकासमा आमूल परिवर्तन नै ल्याउँछौँ।

पछिल्लो समय देशका पुराना राजनीतिक दल र नेताहरुप्रति वितृष्णा फैलाउँदै उदाएका नयाँ राजनीतिक दल र तिनका उम्मेदवारप्रति लक्षित गर्दै दाहालले भने, ‘कहिलेकाहीँ खहरेखोला उर्लेर आउला तर, त्यो खहरेखोला चाँडै नै सुक्नेवाला छ। निरन्तर बग्ने भनेको नदि जस्तै निरन्तर बगिरहने लोकतान्त्रिक आन्दोलनका अगुवा नेता र पुराना दलहरु नै हुन्।’
भट्टराईलाई मत दिन आग्रह गर्ने क्रममा अध्यक्ष दाहालले रुख चिन्ह नै गठबन्धन दलको अहिलेको साझा चिन्ह भएको उल्लेख गर्दै देशमा प्रतिगामी, लोकतन्त्र र परिवर्तन विरोधीहरुको सामना गर्न र लोकतान्त्रिक संविधान र प्राप्त उपलब्धिहरुको रक्षा गठबन्धनका दलहरु एक भएर अघि बढ्ने पनि उनले बताए।

त्यसअघि सभापति देउवाले आदिकवि भानुभक्तको जन्मथलो तनहुँ नेपालको लोकतान्त्रिक आन्दोलनमा अनगिन्ती शहिद र योद्दाहरुको रगत र पसिनाले सिञ्चित तपोभूमि मात्र नभई अहिले राष्ट्रपति रामचन्द्र पौडेल जस्ता नेताहरुको एतिहासिक जन्म थलो भएको बताए।

पौडेल राष्ट्रपति भएपछि रिक्त हुन पुगेको तनहुँ १ मा कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि निरन्तर लड्दै, भिड्दै र तनहुँका जनताको सुख, दुःखमा साथ दिँदै आएका केन्द्रीय सदस्य भट्टराईलाई उपनिर्वाचनमा निर्वाचित गराएर पठाए आफूले उनलाई मन्त्री समेत बनाउने सक्ने आश्वासन दिए।

भट्टराईको चाहना समग्र तनहुँको विकास, निर्वाण र संमृद्धि रहेको उल्लेख गर्दै त्यसमा पनि उनी निर्वाचित भएर गएको खण्डमा तनहुँमा एउटा सुविधा सम्पन्न अस्पताल र प्राविधिक शिक्षालय खोल्ने उनको सपना सफल पार्न सभापति देउवाले सबै सहयोग गर्ने पनि बताए।

त्यसअघि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र समाजवादी पार्टीका नेता भट्टराईले वर्तमान सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई विजयी गराएर देशको संविधान, लोकतन्त्र र जनताका उपलब्धिहरुको रक्ष ागर्न एकताबद्ध भएर अघि बढ्नको विकल्प नभएको बताए।  

 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update