हिमाल दैनिक
रास्वपाले माफी मागेपछि चितवनको नयाँ किरण मावि केन्द्रमा पुनः मतदान प्रक्रिया सुचारु

राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उलंघन गरेको स्वीकार गर्दै माफी मागेपछि केही घण्टा अवरुद्ध भएको चितवनको नयाँ किरण माविस्थित मतदान केन्द्रमा पुनः मतदान प्रक्रिया सुचारु भएको छ।

बिहान ७ बजेदेखि शान्तिपूर्ण वातावरणमा जारी मतदानको प्रक्रिया अपरान्ह पौने १२ बजेतिरबाट विथोलिँदा स्थगित हुन पुगेको थियो।

विशेषगरी रास्वपाका उम्मेदवार रवि लामिछाने आफ्ना समर्थकसहित उक्त मतदान केन्द्रमा पुग्दा नाराबाजी गर्दै गएपछि भरतपुर ११ को उक्त मतदान केन्द्र बाहिर रहेका अन्य दलका समर्थकले विरोध जनाएका थिए।

त्यसपछि केहीसमय तनावपूर्ण अवस्था उत्पन्न भएपछि स्थगित भएको मतदान प्रक्रिया सर्वदलीय बैठक पश्चात अपरान्ह ३ बजेबाट पुनः सूचारु भएको छ।

मतदान प्रक्रिया सुचारु हुनअघि निर्वाचन अधिकृतले सर्वदलीय बैठक राख्दै विभिन्न ४ बुँदे सहमति पश्चात मतदान सुचारु भएको हो।

यसरी गरिएको सहमतिको एउटा बुँदामा रास्वपाले आचारसंहित विपरित नाराबाजी गरेकोमा माफी मागेको र यसरी भएको आचारसंहित उलंघनको जानकारी प्रमुख निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगलाई गराउने सहमति भएको छ।

लामिछानेले आजै बिहान पनि आचारसंिहता विपरित आफूसहित अन्य क्षेत्रका आफ्ना उम्मेदवारलाई मत दिन प्रत्यक्ष भिडियो सन्देश दिएका थिए भने अपरान्ह भएको घटना पश्चात पनि भिडियो मार्फत आफ्ना कार्यकर्तालाई संयमित रहन आग्रह गरेका थिए।

342526619_530144215751506_7238992169432887822_n1682243743.jpg

342700574_9421568891216659_4768381978248487517_n1682243743.jpg

 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update