हिमाल दैनिक
फरार सांसद कोेइरी विरामी भएको भन्दै सभामुखले सदनमा सूचना दिएपछि संसदमा हंगामा

फौजदारी अभियोगमा लामो समयदेखि फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको सांसद पद जोगाउन सभामुख देवराज घिमिरेले उनलाई विरामी भएको भन्दै सदनबाट अरु विरामी अनुपस्थित सांसद सरह विदा स्वीकृत गराउन खोजेपछि प्रतिनिधि सभामा हंगामा भएको छ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा चालु अधिवेशन अन्त्य हुनु अघि सभामुख घिमिरेले कोइरी पनि विरामी भएर सदनमा अनुपस्थित रहेको भन्दै अन्य सांसदको अनुपस्थित रहेको भन्दै सदनको स्वीकृती खोजेपछि सत्तारुढ दलका सांसदहरुले आपत्ति प्रकट गरे।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी, रास्वपा लगायतका दलका नेता तथा सांसदहरुले नियमापत्ति गर्दै फौजदारी अभियोगमा फरार रहेका अभियुक्त कोइरीलाई अरु विरामी भएर उपचाररत सांसदहरु सरह विरामी भएको भनि गरिएको प्रस्ताव रेकर्डबाट हटाउन माग गरे।

सत्तापक्षका सांसदहरुले पटक पटकको आग्रहका बाबजूद नबसेपछि सभामुख घिमिरेले कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई बोल्न समय दिए।

लेखकले फौजदारी अभियोगमा फरार रहेका व्यक्तिलाई सभामुखले के कति कारण र आधारमा विरामी भएको भनि विदा स्वीकृत ीगर्ने प्रस्ताव राखेको भनि आपत्ति प्रकट गर्दै यसलाई रेकर्डबाट हटाउन माग गरे।

उनले यसरी फौजदारी अभियोगमा फरार अभियुक्तलाई विरामी भनेर सांसद पद कायम गराउन गरिएको प्रस्ताव नेपालको संसदीय लोकतान्त्रिक शासन व्यवस्थाको भद्दा मजाक मात्र नभई सभामुखले झुटा कुरा बोलेको आरोप इतिहासमा कसरी हेर्लान भनि प्रश्न गरे।

यसैगरी रास्वपाका नवनिर्वाचित सांसद रवि लामिछानेले कोइरीको विषयमा आफू गृहमन्त्री हुँदा सदनमा कुरा उठेपछि उनी फरार भएको र कोइरीकै सालाले भारतबाट उनको फोटो पठाएको भन्दै उनको सांसद पद बचाउन विरामीको नाममा सदनले अनुमोदन गर्न नपाउने दाबी गरे।

लामिछानेको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै नेकपा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री र गृहमन्त्रीले यदी उनी फरार अभियुक्त हुन भने पक्राउ गरी कानून बमोजिम कारबाहीको प्रक्रिया पूरा गर्नु पर्नेमा सदनमा सत्तापक्षले सदन अवरुद्ध गरेर जगहँसाएको आरोप लगाए।

साथै उनले यदी उनी भारतमा छन् भन्ने जानकारी तत्कालिन गृहमन्त्रीलाई थियो भने किन विगतमा भारतीय फरार अभियुक्तलाई नेपाल र नेपाली अभियुक्तलाई भारतीय प्रहरीको सहायतामा पक्राउ गर्ने गरिएजस्तै कोइरीलाई पक्राउ नगरिएको भन्दै प्रतिप्रश्न समेत गरे।

त्यसपछि सभामुख घिमिरेले कोइरीको विषयमा नेपालको संविधान, प्रचलित कानून, प्रतिनिधि सभाको नियमावली बमोजिम कारबाही हुने नहुने के हुन्छ पछि निर्णय हुनेछ भनि सदनको कारबाही अघि बढाउन खोजेपछि सत्तापक्षका सदस्यहरुले आपत्ति जनाइरहे।

सभामुखको भनाइप्रति माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखले कोइरीको विषयमा विरामी भएको भनि दिएको भनाई हट्छ कि के गर्छ भनेपछि सदनको माहोल थप चर्किएको थियो।

त्यसपछि सभामुख घिमिरेले सदनको कारबाही आधाघण्टाका लागि स्थगित गरे।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update