हिमाल दैनिक
वैशाख २४ गते संघीय संसदको बजेट अधिवेशन बोलाउने सरकारको निर्णय
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषदको बैठक । तस्बिरः प्रदीपराज वन्त/रासस

सरकारले वैशाख २४ गते संघीय संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ। यसरी बस्ने संघीय संसदको बैठकमा सरकारले संविधान अनुसार, प्रत्येक वर्षको जेठ १५ गते अनिवार्य रुपमा सरकारको आगामी आर्थिक वर्षको वार्षिक बजेट पेश गर्नु पर्दछ। त्यसअघि सरकारले पेश गर्ने बजेटको सैद्धान्तिक र नीतिगत कार्यक्रम अर्थात सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले बाचन गर्ने तथा बजेटको पूर्व अनुमानबारे प्रि–बजेट छलफल गर्ने समेत प्रचलन रहेको छ।

बैठकले संक्रामक रोग नियन्त्रणका लागि एकीकृत कानून निर्माण गर्न लागि यसअघि संसदमा पेश भएको कोभिड १९ को संकट व्यवस्थापनका लािग व्यवस्था गर्न बनेको विधेयकलाइ फिर्ता लिने निर्णय गरेको छ भने कोशी टप्पु वन्यजन्तु आरक्ष निर्माण गर्दा विस्थापितहरुका लागि थप छानविन गरि समस्या समाधान गर्न आयोग पुनर्गठन गरि ३ महिना म्याद थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता शर्माले बताइन्।

बैठकले बेलायतका महाराज चाल्र्स तृतियको राज्यभिषेक समारोहमा सहभागी हुन पर्यटनमन्त्रीलाई स्वीकृति दिने निर्णय गरिएको छ भने नेपाली दुतावास ढाकाका लागि जग्गा प्राप्तीका लागि हस्ताक्षर गर्न बंगलादेशका लागि नेपाली राजदूतलाई अख्तियारी दिने र वनस्पती बिभागको महानिर्देशक राधा वाग्लेको राजीनामा स्वीकृत गर्ने निर्णय पनि भएको प्रवक्ता शर्माले जानकारी दिइन्।

प्रवक्ता शर्माले चीनबाट हतियार खरिद गर्ने कुनै पनि प्रस्ताव मन्त्रिपरिषद्मा नआएको दावी गर्दै कुनैपनि देशसंग हतियार खरिद गर्दा देशको नीति नियम र कानूनभित्र रहेर गर्नुपर्ने भन्दै त्यस बिषयका कुनै पनि प्रकारको छलफल नभएको उनले बताइन्।

प्रवक्ता शर्माले चीनसंग हतियार खरिद गर्ने बिषयलाई प्रधानमन्त्रीको भारत भ्रमणसंग जोड्न नहुने जिकिर समेत गरिन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले ताजा जनादेशकोे आधारमा नयाँ सरकारको नेतृत्व लिएलगत्तै आफ्नो विदेश भ्रमणको औपचारिक सुरुवात विगतका सरकार प्रमुखले जस्तै भारतबाटै गर्ने बताउँदै आएपनि उनको भ्रमणका लागि भारतबाट तिथि, मितिसहित औपचारिक पत्र अहिलेसम्म नआउँदा प्रधानमन्त्रीको भ्रमणबारे विभिन्न अडकलबाजी चलिरहेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update