हिमाल दैनिक
नेवि संघ र तरुण दलको केन्द्रीय कार्यसमिति शुक्रबारसम्म गठन गर्ने कांग्रेसको तयारी

नेपाली कांग्रेसले शुक्रबारसम्ममा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने गरी तयारी थालेको छ।

लामो समयदेखि कांग्रेसको पार्टी संगठन निर्माणको नर्सरीका रुपमा परिचित विद्यार्थी संघ र तरुण दलको अध्यक्ष बाहेक अन्य सदस्य नहुँदा पार्टी संगठनको गतिविधि समेत प्रभावित भएको भन्दै नेतृत्वको आलोचना भइरहेकै बेला सभापति शेरबहादुर देउवाले यी दुबै संस्थाको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेगरी तयारी अघि बढाएका हुन्।

बिहिबार सभापति देउवाले पार्टीका पदाधिकारीहरुलाई आफ्नो निवास धुम्ब्रबाराहीमा बोलाएर कार्यसमिति विस्तारको विषयमा छलफल गरेका थिए।

बैठकमा सहभागी एक पार्टी पदाधिकारीका अनुसार, आजको छलफलमा लामो समयदेखि अधिवेशन पनि हुन नसकेका र संगठनको नेतृत्वदेखि कार्यसमिति पनि नभएका भातृ संस्थाको गठन तथा समितिलाई पूर्णता दिने विषयमा छलफल भएको थियो।

‘तत्काल सबै भातृ संस्थाको नभएपनि तरुण दल र नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति विस्तार गर्ने निर्णय आजको बैठकले गरेको छ,’ त्यी पदाकारीले भने। यसका लागि पार्टीका दुई महामन्त्रीलाई तरुण दल र नेविसंघको कार्यसपिमति गठनको गृहकार्य गरी सम्भवत् शुक्रबार बेलुकासम्ममा टुंगो लगाउने तयारी भइरहेको छ।

यसरी कार्यसमिति गठन गर्दा पार्टीभित्रको संगठनात्मक शक्ति सन्तुलनका आधारमा प्लेन कमिटी गठन गरिने बताइएको छ। यदी यस आधारमा कार्यसमिति विस्तार भएमा तरुण दल र नेविसंघ दुबैको अन्य पदाधिकारी मनोनित नगरी सबैलाई कार्यसमिति सदस्यका रुपमा राखिने छ।

हाल पार्टी सभापतिले यसअघि मनोनित गरेका तरुण दलका अध्यक्षमा विद्वान गुरुङ र नेवि संघको अध्यक्षमा दुजाङ शेर्पा मात्रै रहेका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update