हिमाल दैनिक
कांग्रेसका तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट थप तीन जना सदस्य थपिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले पठाएका नामहरुलाई प्रधानमन्त्री दाहालले पूर्व सहमति बमोजिम मन्त्रिमण्डलमा सामेल गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको भोलिपल्ट बिहिबार थपिएका नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्।

यसरी थपिएका नवनियुक्त तीन मन्त्रीमा कांग्रेस उपसभापति धनराज गुरुङ, नेताद्वय मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बु रहेका छन्।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार अपरान्ह विशेष समारोहकाबीच पद तथा गोपनीयताको सपथ दिलाए।

यसरी नियुक्त भएका नयाँ मन्त्रीहरुमध्ये उपसभापति गुरुङले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने अर्का मन्त्री बस्नेतले स्वास्थ्य तथा जनसङ्ख्या तथा लिम्बुले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसअघि कांग्रेसको तर्फबाट पहिलो चरणमा चार जना र गत वैशाखको सुरुमा एक गरी पाँच जनाले मन्त्रिपरिषदमा जिम्मेवारी पाइसकेका छन्।

आज थपिएका तीन नयाँ मन्त्रीसहित कांग्रेसबाट अब सरकारमा कुल ८ जना मन्त्री सहभागी भएका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update