प्रहरीले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको बिभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाली नागरिकता सहित पक्राउ गरि सार्वजनिक गरेको हो।
एकै घर परिवारका बाबु, छोरा लगाएतले बिभिन्न स्थानबाट नेपाली नागरिकता लिएको देखिएको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगाएतका कागजात समेत बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मनोजकुमार केसीले जानकारी दिए।
वरिष्ठ उपरिक्षक केसीका अनुसार, अहिले १० जनालाई पक्राउ गरि कारवाहीको प्रक्रिया अघि बढाइसकेको र शंकास्पद केहि व्यक्तिमाथि अनुसन्धान जारी रहेको छ।
पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने भरतप्रसाद गुप्ता, राहुल गुप्ता, ज्ञानमति देवी गुप्ता र गोपाल गुप्ता, बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने रामसुन्दर गुप्ता, गोंगबु बस्ने रामप्रवेश गुप्ता, कलंकी बस्ने भरत गुप्ता,स्नेहलता गुप्ता, मिनदेवी गुप्ता र राजेशकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ।