हिमाल दैनिक
बालुवाटारमा दाहाल, देउवा र ओलीबीच भेटवार्ता, छलफल विषयबारे काेही मुख खाेल्दैनन्!

समग्र मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्र विविध विषयले तातिरहेकै बेला प्रमुख तीन दलका शीर्ष नेताहरुबीच लामो छलफल भएको छ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालबीच झण्डै डेढ घण्टा भेटवार्ता भएको छ।

सत्तारुढ दुई दलका प्रमुखसँग विपक्षी दलका नेता ओलीले कुन कुन विषयमा छलफल गरे भन्नेबारे अहिलेसम्म औपचारिक जानकारी बाहिर आएको छैन।

मलुकको पछिल्लो घटनाक्रममा बिषयमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो।

प्रधानमन्त्री निवास तीन शीर्ष नेताहरुबीच आगामी बर्षको बजेट, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका बिषयमा छलफल भएको भनिएपनि के के विषयमा छलफल अथवा सहमति बन्यो भन्ने जानकारी कुनै नेता वा नेता निकटका आधिकारिक व्यक्तिले बताइरहेका छैनन्।

विशेषगरी पछिल्लो समय नक्कली भुटानी शरणार्थीको विषयमा एमाले सचिव टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री रामबहादुर थापाका छोराहरु लगायत कतिपय सत्ता र प्रतिपक्षी दलका नेता तथा उच्च पदस्थ कर्मचारी पनि संलग्न रहेको भन्ने समाचार सार्वजनिक भएपछि यो विषय थप चासो र चर्चाको केन्द्रमा परेको छ।

यसमा पनि एमाले अध्यक्ष ओलीले पटक पटक प्रधानमन्त्री दाहालसँग यसबारे छलफल गर्नेदेखि प्रधानमन्त्री दाहालले आफूमाथि घटनाको छानविनका विषयमा चर्को दबाब आइरहेको भनि सार्वजनिक अभिव्यक्ति दिएपछि नक्कली शरणार्थीको मुद्दा झन पेचिलो बन्दै गएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update