हिमाल दैनिक
स्वर्णिमलाई राजेन्द्र बजगाईंको जवाफः ‘मोटिभेशनल फि’ लिएरै तपाईले हाम्रो घोषणापत्र लेखिदिएको हो

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले हालै मात्र कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका स्वर्णिम वाग्लेलाई सदनमा बोल्दा आफ्नो मर्यादा नभुल्न सुझाव दिएका छन्।

आर्थिक वर्ष ०८०÷८१ बजेटका प्राथमिकता र सिद्धान्तमाथिको संसदमा जारी छलफलमा भाग लिने क्रममा मंगलबार बोल्न पुगेका सांसद बजगाईले सोमबारको बैठमा वाग्लेले राखेको अभिव्यक्तिको प्रतिउत्तरमा ‘छुच्याईँपूर्ण’ अभिव्यक्ति नदिन सुझाएका हुन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा सांसद वाग्लेले अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेटका प्राथमिकता र सिद्धान्तमाथि टिप्पणी गर्ने क्रममा आफूले लेखिदिएको कांग्रेसको चुनावी घोषणापत्र पढ्न र त्यसमा उल्लेखित ‘ओम्निबस आर्थिक सुधारका कुरा’हरु बजेटमा ल्याउन सुझाव दिएका थिए।

वाग्लेले कांग्रेसको घोषणापत्र आफूले लेखिदिएको भनि व्यक्त गरेको दम्भपूर्ण अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै बजगाईले यसलाई वाग्लेमा रहेको छुच्याईँ र अर्मादित अभिव्यक्तिको संज्ञा दिए।  

बजगाईले ००७ सालको क्रान्ति पश्चात अर्थमन्त्री बनेका तत्कालिन कांग्रेस नेता सुवर्णशम्शेरले कुनै ‘मोटिभेशनल फि’ नराखीकन अंग्रेजहरुसँग अर्थमन्त्रालयको बजेट तर्जुमा गर्दा सहयोग लिएको प्रसंग उल्लेख गर्दै ‘पश्चिमा देशमा मोटिभेशनल फि भनेको एक किसिमले उच्चस्तरको घुस जस्तै मानिने रहेछ’ भने।

यो प्रसंगलाई वाग्लेले कांग्रेसको घोषणापत्रमा गरेको सहयोगबारे दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भने, ‘हामीले हाम्रो घोषणा तयार गर्दैगर्दा नेपाली कांग्रेसका तत्कालिन अर्थशास्त्री माननीय वाग्लेजीलाई सहयोग माग्यौँ। काम गर्दै जाँदा त्यसपछि त्यहाँबाट निस्किसकेपछि मैले बनाइदिएको घोषणापत्र प्रतिबिमिबत गर्नुपर्‍थ्यो भनेर यो सदनमा उभिएर भन्नुभयो।’

गोरखाबाट निर्वाचित सांसद बजगाईले वाग्लेको त्यो भनाइलाई छुच्याईँको संज्ञा दिँदै भने, ‘त्यो छुच्याई हाम्रा अग्रजहरुले जोनका होइनन् र थिएनन्। म यहाँलाई फेरि पनि स्मरण गराउन चाहन्छु, मोटिभेशनल फि भनेको हामीले नियुक्तिहरु प्रदान गर्यौँ। त्यसमा ख्याल गर्नु होला। तपाई पनि यो सदनमा प्रवेश गरिरहनु भएको छ, मर्यादा कायम गर्नुहोला।’

गोरखाकै गाउँमा ०३१ सालमा जन्मिएर राजधानीको बुढानिलकण्ठबाट स्कूले शिक्षा लिएपछि विदेशका विश्वविद्यालयबाट उच्चशिक्षा हाँसिल गर्दै विदेशी निकायमा कार्यरत रहेका वाग्लेले ०७१ सालमा तत्कालिन कांग्रेस सभापति शुशिल कोइराला नेतृत्वको सरकारले योजना आयोगको सदस्य र पछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले योजना आयोगको उपाध्यक्षमा नियुक्ति दिएको थियो।

यसका अतिरिक्त ०७६ सालको पुसमा सभापति देउवाले वाग्लेलाई पार्टीको महासमिति सदस्यमा मनोनयन गरेर पार्टी राजनीतिमा ढोका खोलिदिएका थिए। तर, राष्ट्रिय राजनीतिमा खुम्चिएको कांग्रेसबाट खासै लाभको पद पाउनसक्ने स्थिति नदेखेपछि ०७७ असोजमा वाग्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा जागिर खान गएका थिए।

करिब १८ महिने जागिर खाएर नेपाल फर्किएका वाग्लेलाई पार्टीले उनको चाहनाबमोजिम गत आम निर्वाचनमा टिकट नदिएपछि चैत १६ गते पार्टी परित्याग गर्दै रास्वपाको तर्फबाट तनहुँको वैशाख १० गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिँदै सांसद पदमा निर्वाचित भएका थिए।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update