हिमाल दैनिक
प्रधानमन्त्री दाहाल र भारतीय प्रम मोदीको उपस्थितीमा भयो ७ बुँदे सम्झौता

नेपाल र भारतबीच बिभिन्न सात विषयमा आधारित सम्झौतामा हस्ताक्षर भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसहितको नेपाली प्रतिनिधिमण्डलले बिहीबार हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदी र भारती सरकारी अधिकारीसँग गरेको द्विपक्षीय भेटवार्ता र छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

दुईपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केहि परियोजनाहरुको संयुक्त रुपमा बटन थिचेर उद्घाटन गरेका थिए।

दुई देशबीच नेपाल भारत पारवहन सम्झौता नवीकरण गर्ने सम्झौता भएको छ, त्यस्तै सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पु¥याउने सहमति भएको छ भने चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने सहमति भएको छ।

पत्रकार सम्मेलनका क्रममा भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास गरिएको छ भने नेपालगन्ज–रूपैडिया इन्टिग्रेटेड चेकपोस्ट तथा बथनाहा–विराटनगर कार्गो रेलको उद्घाटन गरिएको छ।

पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले दुईदेशबीच भएको सम्झौताले सम्बन्ध थप प्रगाढ हुने बताए।
मोदीले नेपाल भारतबीच ऊर्जामा सम्बन्धमा दीर्घकालीन सम्झौता भएको भन्दै नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरे।

सन २०१४ मा भारतको प्रधानमन्त्री नियुक्त भएलगत्तै गरेको नेपालको भ्रमणका क्रममा तत्कालिन संविधान सभालाई सम्बोधन गर्ने क्रममा नेपाल र भारतबीचको सम्बन्धलाई ‘एचआइटी हिट’ अर्थात हाइवे, आइवे एण्ड ट्रान्सवेको माध्यमबाट सम्बन्ध विस्तार गर्ने मान्यता अघि सारेका भारतीय प्रधानमन्त्री मोदीले पछिल्लो समय भएको सहमतिले आपसी सम्बन्धलाई हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहने भन्दै यसलाई अब ‘सुपरहिट’ बनाउने दाबी समेत गरे।

साथै उलने नेपाल र भारतबीचको सीमा लगाएत अन्य समस्याको समाधान खोज्ने आश्वासन पनि दिए।
तर, बहुचर्चित र विवादित लिपुलेक, लिम्पियाधुरा र कालापानीसँगै सुस्ताको सीमा विवादको विषयमा भने खासै औपारिक छलफल वा निर्णय केही गरिएको छैन।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले सीमा समस्याहरुकाबारे द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेका थिए।

उनले भारतीयसंग निकै महत्वपूर्ण सहमति भएको भन्दै यसले मुलुकको बिकासका थप मद्दत पुग्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री दाहालले दुई देशबीच नयाँ हवाई रुटका बारेमा सकारात्मक छलफल भएको जानकारी दिए।
उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता समेत दिएका छन्।

त्यसअघि बिहीबार नै दाहालले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै पुष्पहार अर्पण गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमण सम्पन्न गरेर जेष्ठ २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update