हिमाल दैनिक
नागरिकता विधेयकको विषयलाई लिएर विपक्षी दलद्वारा संसदमा नाराबाजी

प्रतिनिधि सभाको आइतबारको बैठकमा विपक्षी दलका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रक्रिया अघि बढाउन अवरोध गरेका छन्।

पूर्वनिर्धारित कार्यतालिका अनुसार बिहान ११ बजेका लागि तय गरिएको बैठक करिब डेढ घण्टा ढिलोगरी सुरु भएको बैठकमा विपक्षी दलले सरकारको सिफारिसमा राष्ट्रपतिले हालै प्रमाणिकरण गरिएको नागरिकता विधेयकको विषयलाई लिएर विरोधमा उत्रिए।

सभामुख देवराज घिमिरेले सदनको कारबाही सुरु गर्नासाथ विपक्षी दल नेकपा एमाले लगायतका दलका सांसद उभिएर विरोध गरे।

त्यसपछि सभामुखले नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए।

बैठकमा बोल्दै सचेतक गिरीले आफ्नो दल नागरिकता पाउनबाट बञ्चित नागरिकका लागि संसदबाट छोटो मार्गबाट टुंगो लगाउन तयार भएपनि सरकारले संविधान र संसदीय परम्पराविपरित अघिल्लो संसदबाट पारित भएको भनिएको विधेयकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेकोमा आपत्ति प्रकट गरे।

उनले राष्ट्रपतिले जारी गरेको विधेयक जस्तै अब ०५६ सालतिर तत्कालिन राजा विरेन्द्रले प्रमाणिकरण नगरी रोकेको विधेयक प्रमाणिकरण गर्ने हो भनि प्रश्न गरे।

साथै उनले लिपुलेक र कालापानी लगायतको नेपाली भूभाग फिर्ता गर्ने भन्दा हालै भारतले सार्वजनिक गरेको भारतको नयाँ नक्सामा नेपाली भूभाग समेटिएको विषयमा कुनै कुरा नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा उभिएर जवाफ दिन र नागरिकता विधेयक फिर्ता लिने घोषणा नगरेसम्म सदन चल्न नदिने बताए।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि सोही अनुसार विरोध गर्दै सदन चल्न नसक्ने चेतावनी दिए।

सभामुखले सदनको कार्यसूचि अनुसार बजेटमाथि नियमित छलफलको प्रक्रियामा लैजान र त्यहीबिचमा सरकारले पनि सदनमा उठेका प्रश्नहरुको जवाफ पनि दिन सक्ने भन्दै विपक्षी सांसदहरुलाई बसेर सदनको कारबाही सूचारु गर्न सहयोगका लागि आग्रह गरे।

तर, विपक्षी दलका सांसदहरुले १५वटा भैँसीसँग देश साट्न पाइदैन, नागरिकता विधेयक खारेज गर, संसदीय सर्वोच्चता र संविधानको सर्वोच्चता कायम गर भन्ने नारा लगाएर सदनको कारबाही अवरोध गरे।

बैठकको सुरुदेखि आफ्नो दलका सांसदहरुलाई उभिएर विरोधमा उतारेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत बैठक कक्षको पहिलो रोमा बसिरहेका नेताहरुले करिब १८ मिनेटपछि मात्रै उभिएर सांसदहरुको अवरोधमा सहभागी भए।

त्यसपछि पनि पटक पटक सभामुखले सदनको कारबाही चलाउन सहयोगका लागि आग्रह गरेपनि नमानेपछि सचिवालयका सदस्यहरुसँग अब के गर्ने? कस्तो अप्ठ्यारो पर्यो, सदन चलाउन पनि नहुने, नचलाउँ पनि नहुने भन्दै परामर्श गर्दै एक घण्टाको लागि बैठक स्थगित गरे।

Oli and leaders stood up1685862638.JPG

House disrupted by opposition1685862639.JPG

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update