हिमाल दैनिक
सदनको अवरोध हटाउने उपायको खोजी गर्न सभामुख घिमिरेको आग्रह

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल सुरु गरेका छन्।

विभिन्न मुद्दालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलले आइतबारदेखि सुरु गरेको बैठक अवरोधबारे सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सदनको अवरोध हटाउने विषयमा छलफलको सुरुवात गरेका हुन्।

घिमिरेले आगामी आर्थिक वर्षका लागि सरकारले पेश गरेको बजेट संसदबाट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न प्रधानमन्त्री दाहालसँग आग्रह गरेको सभामुखको सचिवालयले जनाएको छ।

आइतबार प्रतिनिधि सभा अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका थिए।

सभामुखले आइतबार साँझ नै फेरि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गरेको बताइएको छ।

‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुख घिमिरेले भनेको भनाइ उल्लेख गर्दै स्रोतले भन्यो।

सभामुखले समयमा नै संवादबाट निकास खोजौं, अब सदन अवरोध भइरहन सक्दैन भन्ने भनाई राखेका थिए।

सभामुखसँगको संवादमा अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आजको संसदमा आफूले प्रष्टिकरण दिने बताएका छन्।

‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याउँदै भनेको समाचारमा उल्लेख छ।

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही मार्फत विपक्षी दलहरुलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेका थिए।

 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update