नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन ९डिएलए नेपाल० को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताउनुभएको हो ।
आपूmलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उहाँले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि सबै मिलेर अघि बढौँ ।”
नेकपा एमालेभित्र उमेर हद हटाइएको भन्दै उहाँले थप्नुभयो, “हामीकहाँ त्यस्तो छैन । तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन । मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन ।” प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री देउवाले कानून व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रानीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठिक छ र यो छैन भनेर सुझाव दिन सक्ने कानून व्यवसायी हुन् ।”
प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डिएलएको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “यो भूमिकालाई अझै सशक्त बनाउँदै लैजानुपर्छ ।” आफू पनि कानूनको विद्यार्थी भएको भन्दै देउवाले अभ्यास गर्न नपाउँदा दुःख लागेको बताउनुभयो । कानून व्यवसायी पेशा मर्यादित भएको उहाँको भनाइ थियो ।
बिपी कोइराला पनि कानून व्यवसायी भएको भन्दै उहाँले भन्नुभयो, “बिपी कोइराला पार्टीमा कानून व्यवसायी ९लयर० हुनुहुन्थ्यो । भारतीय नेता जवाहरलाल नेहरू पनि कानून व्यवसायी हुनुहुन्थ्यो । लयर राम्रो हो, मैले पनि ल पढेको हुँ, प्राक्टिस गर्न पाइनँ ।” अमेरिकामा कानून पढेका राष्ट्रपतिलगायत उच्च तहमा पुगेको भन्दै उहाँले कानूनको ज्ञान सबैलाई हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश सिफारिस गर्ने क्रममा क्षमताको आधारमा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नेताहरूको आँगनमा देउसी, भैलो खेलेर न्यायाधीश बन्ने दिन गए ।”
क्षमता नभएका व्यक्तिलाई न्यायाधीशमा सिफारिस नगर्ने प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयो, “न्यायालयमा भएको भ्रष्टाचार शून्य गर्न म मन्त्री भएको हुँ । त्यो सफा गर्ने क्रममा ब्रिफकेस बोकेर धाउने न्यायाधीश बन्न सक्दैन । निष्पक्षरूपमा क्षमताका आधारमा न्यायाधीश छानिन्छ ।”
विगतमा शक्ति केन्द्रबाट कानून सञ्चालन भएको उल्लेख गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले त्यस्ता शक्ति केन्द्र ढलेको र लोकतन्त्र प्राप्त भएको बताउनुभयो । पछिल्लो समयमा फेरि हामी ती शक्ति केन्द्रजस्तै बन्यौँ र दण्ड चलाउन थाल्यौँ भने कानूनी राज्यको परिकल्पना अधुरो हुने उहाँको भनाइ थियो । लोकतन्त्रलाई बलियो बनाउनका लागि सुशासन आवश्यक रहेको भन्दै उहाँ कानूनको आँखामा सबै बराबर हुने बताउनुभयो ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले विधिको शासन र सर्वोच्चताका लागि कांग्रेस ठीक ठाउँमा उभिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस ठीक ठाउँमा उभियो भने विधिको शासन र सर्वोच्चता रहन्छ नत्र रहँदैन ।” अहिलेको समय पार्टीलाई पुनरसंरचना गर्ने समय भएको धारणा राख्दै उहाँले यसमा डिएलएको सहयोग आवश्यक रहेको बताउनुभयो ।
पार्टीलाई विधानसम्मत सञ्चालन गर्नका लागि अहिलेको पद्धतिलाई भत्काउन आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “क्रियाशील सदस्यता वितरण र उम्मेदवार छनोट गर्ने अहिलेको पद्धतिको अन्त्य नभएसम्म पार्टीभित्र सुधार हुन नसक्ने देखिन्छ ।”
कार्यक्रममा केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कांग्रेसलाई कमजोर हुन दिँदैनाँै । सुधार गरेर अघि बढ्छौँ ।” पार्टीलाई अझै सशक्त बनाएर अघि बढ्ने उहाँको भनाइ थियो ।
केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको व्यवस्था र संविधानमाथि आक्रमण भइरहेको बताउनुभयो । लामो सङ्घर्षपछि ल्याएको व्यवस्था र संविधानमाथिको आक्रमण रोक्नका लागि कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो । न्यायालयमा भएका विकृति र विसङ्गति रोक्नका लागि राजनीतिज्ञ र कानून व्यवसायी एक ठाउँमा उभिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुषाल, पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर, खम्बबहादुर खाती, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष माधव यादव, प्रेमबहादुर खड्का, हरिहर दाहाल, शेरबहादुर केसी, सर्वोच्च अदालत बार एसोसिएसनका वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, उपेन्द्रकेसरी न्यौपाने लगायतले बोल्नुभएको थियो ।
पूर्वी चितवनको रत्ननगरमा आज र भोलि हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभर ८८ एकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानून व्यवसायीमध्येबाट एक हजार चार सय एक जना महाधिवेशन प्रतिनिधि सहभागी हुनुहुन्छ । नयाँ नेतृत्वमा सर्वसम्मत बनाउने प्रयास भइरहेको छ ।