हिमाल दैनिक
प्रस्तावित प्रधानन्यायाधीश कार्कीद्वारा कार्ययोजना पेस

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समितिको आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको छ । हाल कायममुकायम प्रधानन्यायाधीश रहनुभएका कार्कीले कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताउनुभयो ।

    सिंहदरबारमा आज बसेको समितिको बैठकमा उहाँलाई प्रश्न सोध्ने र जवाफ माग्ने आजको कार्यक्रम शुक्रबार बिहान ८ बजेलाई सारिएको समितिले जनाएको छ । आज संसद् बैठक भएकाले सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको समितिका सभापति पशुपतिशमशेर जबराले जानकारी दिनुभयो । बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेपछि आज सुनुवाइ तोकिएको थियो ।

    कामु प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस हुनुभएको थियो । कामु प्रधानन्यायाधीस कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update